मनहरी । हेटौंडामा सम्पन्न नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप–८ ए साइड रनिङ शिल्ड फूटबल प्रतियोगिताको उपाधि बानेश्वर फ्रेण्डसिप भेट्रान्स क्लबले जितेको छ ।
आज सोमबार सम्पन्न फाइनलमा किङ्गकम भेट्रान्स क्लब काठमाडौंलाई १–० गोलअन्तरले पराजित गर्दै बानेश्वरले उपाधि हात पारेको हो ।
खेलको १३औं मिनेटमा बानेश्वरका लागि हरिहर थापा ‘झलक’ले गोल निर्णायक बन्यो । त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेल बानेश्वरले जित्यो । उपाधिसहित बानेश्वरले १ लाख ११ हजार १११ तथा रनिङ्ग शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता किङ्गकमले ५५ हजार ५५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
फाइनल खेलको प्लेयर अफ द म्याच हरिहर थापा ‘झलक’ घोषित भए । उनलाई प्रतियोगिताको उत्कृष्ट फरवार्ड उपाधिसँगै नगद ५ हजार र शिल्ड प्रदान गरिएको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बानेश्वरका प्रदीप तण्डुकार, उत्कृष्ट डिफेन्स महेन्द्र विश्वास खवास, उत्कृष्ट कोच आर्दश मल्ल घोषित भए भने उत्कृष्ट मिडफिल्डर किङ्गकमका विपीन शाह घोषित भए । विधागत तर्फबाट उत्कृष्ट घोषित भएको खेलाडीलाई नगद ५ हजारसहित शिल्ड प्रदान गरिएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी किङ्गकमका जगतमान लामा घोषित भई नगद १० हजार र शिल्ड प्राप्त गरे । पुरस्कार प्रदान गर्दै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले खेलकुद प्रतियोगिता स्वास्थ्य र राष्ट्रका लागि महत्त्वपूर्ण भएको बताइन् ।
उपमहानगरपालिकाले खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि फूटबल एकेडेमी स्पापनाको प्रक्रिया अघि बढाएको उनको भनाइ थियो ।
हेटौंडा भेट्रान्स क्लबको आयोजनामा फागुन २२ गतेदेखि सञ्चालित प्रतियोगितामा देशभरका १९ वटा टीमको सहभागिता थियो । ४५ वर्ष उमेर समूहभन्दा माथिका खेलाडी सम्मिलित टीममा ५० वर्ष उमेरका २ जना खेलाडी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको थियो ।