काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिजमा नेपालले पहिलो खेल हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुनेछ।
यो सिरिज आजदेखि बुधबारसम्म चल्नेछ। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार हङकङ पुगिसकेको छ। यो सिरिजमा नेपाल आयोजक हङकङ र पीएनजी सहभागी छन्।
नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आइसिसी टी-२० विश्वकप तयारीका लागि टी-२० सिरिज आजदेखि खेल्न लागेको हो।
सिरिजका लागि रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अविनाश बोहोरा, राशिद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम समेटिएका छन्।
क्यानले यो सिरिजमा दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललितनारायण राजवंशीलाई आराम दिएको छ। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज अघि शनिबार घरेलु टोली हङकङसँग खेलेको फ्रेन्डसिप कपमा नेपाल पराजित भएको छ ।
फ्रेन्डसिप कपमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको हो। नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ।