काभ्रे । काभ्रेपलान्चोकको पनौती नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । नगरले सोमबार तेह्रौँ नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो ।
सभामा आउँदो आवका लागि नगरप्रमुख रामशरण भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख गीता बञ्जाराले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मतले पास गरिएको छ । विनियोजित बजेटमध्ये नगरको आन्तरिक आय ४० करोड ७१ लाख, राजस्व बाँडफाँटबाट २० करोड नौ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरण, बागमती प्रदेश सरकारको वित्तीय हस्तान्तरण र जन सहभागितासहित रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको हो ।
नगरको नीति तथा कार्यक्रम र अर्थ विधेयक, विनियोजन विधेयक तथा आय व्ययसहितको बजेट पास भएको छ । यस्तै सभाले २०७९/८० को वार्षिक प्रतिवेदन तथा नगरले गरेका निर्णय अनुमोदन गरेको छ । यही असार १० गते सुरु गरिएको नगरसभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगन भएको थियो ।
सभाले डिजिटल पनौतीको अवधारणालाई पूर्णता दिने, कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम तयार गरी निःशुल्क वितरण गर्ने, पनौती क्षेत्रका भूमिहीन सुकुम्बासीलाई धनी प्रमाणपुर्जा वितरण गर्ने, प्रदूषण नियन्त्रण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने, नगरभित्र औद्योगिक ग्रामको स्थापना गर्ने, माध्यमिक विद्यालयलाई प्राविधिक विद्यालयका रूपमा विकास गर्ने, खोपासी स्वास्थ्य चौकीलाई नगर अस्पतालमा रूपान्तरण गर्ने, सामुदायिक विद्यालयमा ‘इ–लाइब्रेरी सर्भर’को व्यवस्था गरी अनलाइन शिक्षामा पहुँच विस्तार गर्ने, ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई नगरको सहकार्यमा समय–समयमा तीर्थाटन गराइनेसमेत नीति तथा कार्यक्रममा जनाइएको छ ।
सो अवसरमा अर्थ विधेयक, विनियोजन विधेयक, २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति गठन कार्यविधि–२०८०, लेखा समिति प्रतिवेदन, न्यायिक समिति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।