काठमाडौं । सरकारले गण्डकी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने प्रदेश प्रमुख पदहरूमा नियुक्तिका लागि मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँको नाम मनोनयनका लागि सिफारिस गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
यसअघि मधेशमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुखका रूपमा रहेका थिए ।
सरकारले मन्त्रिपरिषद्का समितिहरू गठन गरी समितिको समन्वय गर्न संयोजक तोकेको छ । राजनीतिक समितिको संयोजकमा प्रधानमन्त्री, आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार र यातायातमन्त्री, विधेयक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, प्रशासन समितिको संयोजकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री र सामाजिक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा स्वास्थ्य र जनसंख्या मन्त्रीलाई तोकिएको छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री शर्माले भने, ‘राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादी केन्द्रले उठाएको उम्मेदवारलाई विजयी बनाउने गठबन्धन दलका पार्टीहरू सहमत भएका छन्, सहकार्य गर्ने बेला नै माओवादी केन्द्रलाई राष्ट्रिय सभाको अध्यक्ष दिने भन्ने निर्णय भएको थियो, त्यसअनुसार नै माओवादी केन्द्रले उम्मेदवार अगाडि सारेको छ ।’