विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब विजयी भएका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११७ रन बनायो । बागमतीका लागि शुभ कन्साकारले ३४ बलमा ३ छक्का र ४ चौकाको मद्दतमा ४१ तथा रविन जोशीले ३१ रनको योगदान दिए । बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले ३ तथा नरेन साउँदले २ विकेट लिए ।
११८ रनको लक्ष्य पाएको सुदूरपश्चिमले १९ दशमलव २ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका लागि नरेन भट्टले ३०, दीपक बोहोराले २२, किरण ठगुन्नाले २१ तथा नारायण जोशीले १६ रनको योगदान दिए । बलिङतर्फ बागमतीका गौतम केसीले ३ तथा विपिन आचार्य र इशान पाण्डेले २/२ विकेट लिए ।
जीतसँगै सुदूरपश्चिम समूह ‘बी’मा ४ खेलमध्ये ३ मा जीत र १ मा पराजित हुँदै ६ अंकका साथ अंकतालिकाको दोस्रोे स्थानमा उक्लिेको छ । बागमती भने दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । बागमतीले बाँकी २ खेल जिते पनि समूह चरणबाटै बाहिरिने छ । सुदूरपश्चिम सेमिफाइनल नजिक पुगेको छ ।
आज सोमबार भएको दोस्रो खेलमा एपीएफ क्लबले घरेलु टोली कोशी प्रदेशलाई ४ विकेटले पराजित गर्यो । पराजित भएसँगै कोशी प्रतियोगिताबाट बाहिरिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११७ रन बनायो ।
कोशीका लागि सोनु अन्सारीले ४३, अंकित सुवेदीले ३२ र श्रवण यादवले १९ रन बनाए । बलिङतर्फ एपीएफ क्लबका भुवन कार्की, यज्ञमान कुमाल, अमर रौटेला र इर्साद अहमदले २/२ विकेट लिए ।
११८ रनको लक्ष्य एपीएफ क्लबले १८ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । एपीएफका लागि पुरन विकले ३६, प्रनित थापा मगरले २० र अरुण ऐरीले १५ रनको योगदान दिए । बलिङतर्फ मधेशका फिर्दोस अन्सारीले ३ र दीपेश कँडेलले १ विकेट लिए । समूह ‘ए’मा ३ खेलमा १ मा जीत र २ मा पराजित कोशी २ अंकका साथ तेस्रो स्थानमा छ ।
कोशीले अब लिगको अन्तिम खेल मंगलबार आर्मीसँग खेल्नेछ । २ खेलमध्ये १ मा जीत र १ मा पराजित भएको एपीएफ क्लब २ अंकका साथ चौथो स्थानमा छ ।
मंगलबार पहिलो खेल कोशी प्रदेश र आर्मी क्लबबीच तथा दोस्रो खेल बागमती प्रदेश र गण्डकी प्रदेशबीच हुने मोरङ क्रिकेट संघका अध्यक्ष महम्मद साद बाबु कुरैसीले जानकारी दिए ।