काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ ।
तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफ्नो छ वर्षे कार्यकाल पूरा गरी राष्ट्रिय सभाबाट अवकाश भएपछि अध्यक्षका लागि आज निर्वाचन हुन लागेको हो ।
आज बिहान ११ बजेर ९ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठकमा अध्यक्षको चयन प्रक्रिया अघि बढ्ने छ । राष्ट्रियसभाको अध्यक्ष पदमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल र नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा चुनावी मैदानमा छन् ।
दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन् । त्यसैगरी नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा काँग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा किरणबाबु श्रेष्ठ रहेका छन् ।
राष्ट्रिय सभा बैठकमा अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।
यस्तै, गोपी बहादुर सार्की आछामीले नारायण प्रसाद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् । त्यसपछि सभाको अध्यक्षता गर्ने उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले साथ दिएको छ भने दाहाललाई सत्ता गठबन्धनमा रहेका माओवादीसहित एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको छ ।
५९ सदस्यीय राष्ट्रियसभामा दाहाललाई माओवादीका उपाध्यक्षसहित १८, एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ गरी ३९ सांसदको समर्थन छ । यस्तै, शर्मालाई कांग्रेसका १६, लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक गरी १८ सांसदको साथ छ ।