काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ८५ रनले हराएको छ।
जितसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ दशमलव १ ओभरमा १ सय १३ रनमा समेटियो । बलिङ र ब्याटिङमा कुशल भुर्तेल चम्किएपछि नेपालको फराकिलो जित सम्भव भएको हो ।
कुशलले ४ ओभर बलिङ गर्दै १२ रन खर्चिएर ४ विकेट लिएपछि पीएनजीको इनिङ्स धरासायी बनेको हो । प्रतिस जिसीले २ तथा गुलसन झा र आकाश चन्दले समान एक एक विकेट लिए ।
पीएनजीका हिरी हिरीले बनाएको २८ रन ब्यक्तिगत तर्फ सर्वाधिक उच्च स्कोर रह्यो । सिसी वाउले २१ र टोने उराले १२ रन बनाए । नोसैना पोकानाले १२ रनको योगदान दिए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो । ओपनर कुशल भुर्तेलले ५९ रन बनाएको इनिङ्समा सन्दीप जोराले २६ बलमा ५६ रनको बिस्फोटक इनिङ्स खेलेका थिए । लोकेश बलले ६ बलमा १४ रन बनाए भने विवेक यादवले ४ बलमा १९ रनको शानदार इनिङ्स खेले ।
४ बल खेलेका विवेकले ३ छक्का प्रहार गरेपछि अन्तिम ओभरमा नेपालले २१ रन जोडेको थियो । बिनोद भण्डारीले २७ रन बनाएको खेलमा कप्तान रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए । गुलसन झा १५ बलमा नटआउट रहे ।
पीएनजीका नार्मन बनुआ, नोसेना पोकाना र जान कारिकोले समान एक एक विकेट लिएका थिए । नेपाल टी ट्वान्टी क्रिकेट सिरिज खेल्न हङकङमा छ । नेपालले २ खेलबाट ३ अंक जोडेको छ ।
वर्षाले प्रभावित बनेको पहिलो खेलमा नेपालले हङकङसँग अंक बाँडेको थियो । सिरिजको अन्तिम खेलमा हङकङ र पीएनजी खेल्नेछन् । विजेता टिमले फाइनलमा स्थान बनाउनेछ ।