काठमाडौं । उही स्थानको एक विद्यालयबाट २५० भन्दा बढी विद्यार्थीको अपहरणको केही दिनपछि बन्दुकधारीहरूले उत्तरपश्चिमी नाइजेरियाली गाउँबाट दर्जनौं मानिसको अपहरण गरेको २ स्थानीय प्रतिनिधि र संयुक्त राष्ट्रसंघको एक स्रोतले बताएका छन् ।
आपराधिक गिरोहले प्रायः उत्तरपश्चिमी नाइजेरियामा सामूहिक अपहरण गर्छन् । फिरौतीका लागि ठूलो संख्यामा मानिसहरूलाई लुट्न उनीहरूले विद्यालय, गाउँ र राजमार्गहरूलाई निशाना बनाउँछन् ।
गत हप्ता करीब १५० किलोमिटर टाढा कुरिगा गाउँमा अपहरणमा परेका विद्यार्थीहरूको सुरक्षा बलले खोजी गरिरहेका बेला मंगलबार कदुना राज्यको काजुरु जिल्लामा पछिल्लो अपहरणको घटना भएको हो ।
ठूलो संख्यामा अपहरणको घटनाले राष्ट्रपति बोला अहमद टिनुबुको सरकारलाई चुनौती दिइरहेको छ । राष्ट्रपति टिनुबुले जीवनयापनको लागत संकटको व्यवस्थापन गर्ने र अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको मुलुकमा थप लगानी भित्र्याउने वाचा गरेका थिए ।
कदुना राज्यका अधिकारीहरूले बुधबार नयाँ हमलाका बारेमा जानकारी माग्दा तत्काल कुनै जवाफ दिएका छैनन् । यद्यपि स्थानीय काउन्सिलर अबुबकर बुडाले च्यानल्स टीभीलाई बन्दुकधारीहरूले मंगलबार बिहान गाउँमा आक्रमण गरेको र घरघरमा गएर वासिन्दाहरूको अपहरण गरेको तथा छिटपुट गोली चलाएको जानकारी दिए ।
च्यानल्सका अनुसार बुडाले सैन्य हस्तक्षेपले मात्र थप मानिसको अपहरणलाई रोकेको बताए । राज्यका सांसद उस्मान दानलामी स्टिङ्गोले ३२ महिला र २९ पुरुषको अपहरण भएको एराइज न्युजलाई जानकारी दिए ।
सार्वजनिक रूपमा मिडियासँग बोल्ने अधिकार नभएका संयुक्त राष्ट्रसंघको एक स्रोतले पनि बन्दुकधारीहरूले मंगलबार बिहानै गाउँमा आक्रमण गरेको जानकारी दिएको छ । ‘प्रारम्भिक आँकडाअनुसार ४० मानिसको अपहरण भएको थाहा भएको थियो तर यो संख्या बढेर करीब ६० पुगेको छ,’ स्रोतले भन्यो ।
अधिकारीहरूका अनुसार कुरिगा विद्यार्थीहरूलाई बचाउनका लागि सेनाले उत्तरपश्चिममा जंगलहरूमा खोजिरहेको बताएका छन् तर परिवारहरूका अनुसार अपहरणपश्चात अत्यन्त कम जानकारी प्राप्त भएको छ ।
‘सरकारले अपहरणकारीसँग यो मुद्दा उठाउँदा हामी यो त्रासदी समाधान गर्न ईश्वरीय सहयोगका लागि प्रार्थना जारी राख्नेछौं,’ आफन्त मुहम्मद कबिरले बुधबार भने ।
मंगलबार राष्ट्रिय प्रहरी बलका महानिरीक्षक कायोडे एग्बेटोकुनले ‘कदुना वासिन्दा, विशेषगरी ग्रामीण समुदायका मानिसहरूको डर कम गर्न र उनीहरूमा विश्वास निर्माण गर्न राज्यभर अधिकारीहरू परिचालन गर्ने वाचा गरे ।
बोको हराम आतंकवादीहरूले सन् २०१४ मा बोर्नो राज्यको चिबोकबाट विद्यालयका २५० भन्दा धेरै छात्राको अपहरण गरेर ठूलो अन्तर्राष्ट्रिय आक्रोश उत्पन्न गरेको करीब १० वर्षपछि कदुना राज्य र उत्तरपूर्वमा सामूहिक अपहरणको यो घटना भएको छ ।