विराटनगर । विराटनगर महानगरपालिका–१८ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
शिविरमा ५ हजार व्यक्तिले स्वास्थ्य जाँच गराएका छन् । आर्थिक अभावका कारण विपत्रहरू अस्पताल जान समस्या हुने भएकाले वडामै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको महानगरले जनाएको छ ।
स्वास्थ्य शिविरको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आज बुधबार अनुगमन गर्दै शिविरमा आउने नागरिकलाई कुनै समस्या हुन नदिन जाँचमा खटिएका स्वास्थ्यकर्मीलाई निर्देशन समेत दिए । महानगरले भौतिक पूर्वाधारको विकाससँगै नागरिकको स्वास्थ्यप्रति विशेष ध्यान दिएको उनले बताए ।
विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा सुगर, रक्तचाप, क्षयरोग, बालरोग, यौनरोग, स्त्री तथा प्रसूति रोग, आँखा, कान, दन्त, फिजिसियन लगायत सेवा उपलब्ध गराइएको महानगरको स्वास्थ्य महाशाखाका भोला तिम्सिनाले जानकारी दिए ।
शिविरमा आएका बिरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । सो अवसरमा महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १८ का अध्यक्ष जितेन्द्र साह लगायतले वडाबासीलाई सहज होस् भनेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताए ।
महानगरले गत वर्ष पनि १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।