काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले आज उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।
गठन भएको साढे ५ महिनापछि सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको हो । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले आज सिंहदरवार पुगेर गृहमन्त्री लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे आयोगले करिब साढे ५ महिना लगाएर अध्ययन र जाँचबुझ गरेको हो ।
आयोगका अनुसार अध्ययनका क्रममा ७ वटा भन्सार नाकाको स्थलगत निरीक्षण, राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिका सभापति तथा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतक र सचेतकहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहितका पदाधिकारीहरू, विभिन्न ६१ जना विषय विज्ञहरु, विभिन्न ४ वटा संस्थाका १८ जना प्रतिनिधिहरू, नियमनकारी निकायका प्रमुख वा प्रतिनिधिहरू समेतसँग परामर्श र छलफल गरिएको थियो ।
यस्तै पूर्व प्रतिवेदन, विभिन्न भन्सार कार्यालय, राजस्व न्यायाधिकरण एवं सर्वोच्च अदालतबाट भएका फैसला, विभिन्न मन्त्रालय, विभाग र कार्यालयबाट प्राप्त तथ्यांक एवं सुझाव र अध्ययन सामग्रीहरुको अध्ययन भएको पनि आयोगले उल्लेख गरेको छ ।
विद्युतीय चुरो र ब्रेक सुमार्फत ल्याइएको सुनसँग जोडिएका व्यक्तिहरूसँग पनि सोधपुछ गरिएको आयोगले जनाएको छ । आयोगको सदस्यमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी छन् ।