चितवन । महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले जुनसुकै मुद्दाको पनि न्यायाधीश पहिलो अनुसन्धानकर्ता भएको बताएका छन् ।
चितवन जिल्ला अदालत बार एसोसिएसनले स्वर्ण महोत्सवका अवसरमा आज आयोजना गरेको ‘न्याय सम्पादन प्रक्रियामा अनुसन्धानकर्ता, अभियोजनकर्ता, प्रतिरक्षा कानुन व्यवसायी र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अनुसन्धानकर्ताबाट त्रुटि भए सबै प्रक्रियामा नै त्रुटि हुने बताए ।
महान्यायाधिवक्ता डा पोखरेलले भने, “अनुसन्धानमा त्रुटि भए अभियोजन र निर्णयमा पनि त्रुटि हुन्छ । जसका कारण पहिलो न्यायाधीश भनेको नै अनुसन्धानकर्ता हो । तसर्थ त्रुटिरहित तरिकाले अनुसन्धानलाई अघि बढाउनु अनुसन्धानकर्ताको पहिलो दायित्व हो ।” अनुसन्धानकर्ताले पहिलेदेखि नै सही तवरले अनुसन्धानलाई अघि बढाउन जरुरी रहेको उनको भनाइ छ ।
अनुसन्धानका क्रममा देखिने त्रुटि अन्त्य गर्नका लागि समिति बनाएर अध्ययन सुरु गरिएको बताउँदै महान्यायाधिवक्ता डा पोखरेलले सहन्यायाधिवक्ताको नेतृत्वमा अहिले काम भइरहेको जानकारी दिए । वर्तमान कानुन र सर्वमान्य प्रणालीलाई टेकेर काम गर्न सके न्याय दिन सहज र सरल हुने उनको भनाइ छ । उनले थपे, “हतार र आवेशमा निर्णय गर्नु हुँदैन ।”
अर्धन्यायिक निकायहरुले समेत न्याय दिने क्रममा घटनाको गाम्भीर्यता र प्रकृति हेरेर काम गर्नुपर्ने पोखरेलले बताए । न्याय दिने काम महत्वपूर्ण रहेको भन्दै उनले न्याय सरल नभएको बताए ।
जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञावलीले पछिल्ला समयमा अभियोजनमा सुधार भएको बताए । अझै सुधार गरेर न्याय निरुपणलाई सहज बनाउन सकिने उनको भनाइ छ । कार्यविधिमा जटिलता भएको भन्दै उनले अनुसन्धानकर्ताले वास्तविकता पहिचान गरेर मात्रै अभियोजन दर्ता गर्न जरुरी रहेको बताए।
उनले भने, “अहिले देखिएका समस्यालाई समाधान गर्दै न्यायप्रणालीमा सुधार गर्न आवश्यक छ ।” प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले पछिल्लो समयमा देखिएका ‘मिडिया ट्रायल’ले न्यायिक निकायलाई असर गरेको बताए । न्यायिक क्षेत्रमा दक्ष जनशक्ति नहुनु र मिडियाका कारण न्याय सम्पादनमा असर परेको उनले बताए ।