काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष नेताहरूलाई बुझाइएको छ ।
कार्यदलका सदस्य मनिष सुमनका अनुसार दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आज बुझाइएको हो ।
कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ एवं नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन् ।
सरकारमा सहभागी पाँच राजनीतिक दलले बनाएको साझा कार्यक्रममा संविधानको रक्षा,आर्थिक विकास र समृद्धि,अर्थतन्त्रका चुनौती समाधान,आम जनताको निराशालाई चिरेर सरकारप्रति आशा र विश्वास जगाउने विषयलाई प्राथमिकता दिइएको बताइएको छ ।
उक्त मस्यौदाको शीर्षक ‘पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ राखिएको छ । यसमा १३ वटा बुँदाहरू रहेका छन् ।
अहिलेको निराशालाई चिर्ने कुरा, आर्थिक शिथिलतालाई अन्त्य गर्ने कुरा, वित्तीय सुशासन कायम गर्ने, छरितो सेवा प्रवाह गर्ने कुरा, रोजगारी सिर्जना गर्ने कुरा, शिक्षा स्वास्थ्यका कुरा, भौतिक पूर्वाधारका कुराहरू, भूमि व्यवस्थापनलगायतका विषयहरू समेटेर मस्यौदा तयार पारीएको माओवादीका उपमहासचिव जनार्दन शर्माले जानकारी दिए ।