शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च हुन्- डाक्टर शेरबहादुर पुन । ट्रपिकल तथा सरुवा रोगको वैज्ञानिक क्षेत्रमा अनुसन्धान जारी राखेका छन् । दुई दशकदेखि यही क्षेत्रमा काम गर्दै आएका पुनसँग संक्रमण रोगका बारेमा व्यवस्था डटकमका लागि प्रज्ज्वल तामाङले गरेको कुराकानीको सम्पादित अंश:
सरुवा रोग ठाउँअनुसार कस्ता प्रकारका हुन्छन् ?
ठाउँअनुसार संसारमा रोग फरकफरक किसिमका छन् । हावा, पानी, खानेकुरा जस्ता सम्बन्धित चिजले पनि रोगको प्रकृति बन्ने हो । ठाउँअनुसार अफ्रिका, अमेरिका, एसियामा फरक हुन्छ । मौसम परिर्वतनसँगै मानिसलाई लाग्ने रोग पनि फरक हुने गर्छन् । मौसम परिवर्तनका कारण मानिसको शारीरिक स्थितिमा निकै परिवर्तन आउँछ । जसका कारण विभिन्न समस्या भोगिरहनुपरेको हुन्छ ।
नेपालमा देखिने सरुवा रोगहरूको प्रकार बारेमा बताइदिनूहोस् न ।
नेपालमा चाहिं पानी तथा हावाबाट फैलिने रोगहरू धेरै छन् । विशेष गरेर पानीबाट बढी रोगहरू सर्ने गरेको पाइन्छ । किनभने पानीको धेरै ठाउँसम्म फैलिने पहुँच हुने भएकाले सरुवा रोग बढी देखिन सक्छ । अर्को किटजन्य (ब्याक्टिरिया) रोग भन्छौं । किटजन्य रोग भनेको लाखुट्टेको टोकाइ अथवा अरू कुनै किराहरूको कारणले टोकेर हुने रोगहरू छन् । त्यो सँगसँगै, यौन सम्पर्कबाट सर्ने, रगतको माध्यमबाट सर्ने रोगहरू पनि हुन्छन् । यसरी नै नेपालमा देखिने रोगहरूको प्रकारबारे हामीले वर्गीकरण गर्छौं ।
सरुवा रोगको फैलिनबाट रोक्न कस्ता रणनीति अपनाउनु पर्छ ?
सर्वप्रथम त सरुवा रोगबारे पहिचान गर्न आवश्यक छ । त्यसपछि कुन ढंगले र कसरी फैलिएको छ भनेर जान्नुपर्याे । उदाहरणका लागि जस्तै: डेंगु, लामखुट्टेको टोकाइको कारणले लाग्ने र फैलिने गर्दछन् । लामखुट्टे नियन्त्रण गर्न सकियो भने पनि बर्खामा धेरैवटा रोगबाट बच्न सकिन्छ ।
अर्को छिटाे सर्नेमा हैजा पनि हो । यो चाहिं दुषित पानी अथवा बासी तथा सडेगलेका खानेकुराका कारण सर्ने गर्छ । यसबाट बच्न पहिला त ताजा खाना खानुपर्छ । पानी फिल्टर वा तताएर खाने गर्नुपर्यो ।
अर्को सरुवा रोग चाहिं जथाभावी यौन सम्बन्ध राख्नाले सर्छ । जस्तै, अस्थायी साधनको प्रयोग गर्नुपर्याे । एक जनासँग मात्र यौन सम्पर्क गर्नुपर्छ । यौन सम्बन्धका कारण सर्ने रोग फरक प्रकृतिको हुने भएकाले यसको लक्षण पनि छुट्टै हुने गर्छ ।
अहिले मंकी पक्स नामक रोगको पनि चिन्ता सुनिन्छ, यसको बारेमा तपाईंको बुझाइ बताइदिनू हुन्छ कि ?
नेपालमा मंकी पक्स फैलेको त्यति देखिँदैन । केही समय अगाडि पुष्टि चाहिं भएको हो । गएको वर्ष नै विश्वभरि फैलिएको थियो, तर नेपालमा चाहिं एक जना विदेशी महिलामा देखा परेको थियो । नेपालमा देखिएको अवस्था चाहिं छैन र देशभरिका मानिसहरूलाई जाँच गर्न पनि सम्भव देखिँदैन । केही गरी समुदायमा यो रोग देखियो भने सही समयमा देखिने तथा जाँच गराउने सम्भावना न्यून हुन्छ । सायद अब यो समुदायमा रह्यो भने पनि हामीलाई थाहा हुन धेरै गाह्रो हुन्छ ।
नेपालमा यतिखेर पहिलेको तुलनामा बढी सरुवा रोग देखिएको तथ्यांकले बताइरहेको छ । हजुर त यसको विज्ञ नै हुनुहुन्छ । अहिले सरुवा रोग तथा महामारीलाई नियन्त्रण गर्न के कस्ता चुनौती देख्नूहुन्छ ?
जनतामा सरुवा रोगबारे अझै चेतना दिन नसकिएको चाहिं हो तर माथिल्लो तहबाट प्रतिबद्धता दिनु नै सबैभन्दा ठूलो चुनौती देख्छु म । त्यसपछि सरुवा रोगको बारेमा सामान्यतया धेरै मान्छेहरूले पढ्न चासो दिएको त्यति देखिँदैन ।
सरुवा रोगको बारे समुदायमा झ्याप्पै फैलियो भने बाहिर आउँछ, नत्र सकेसम्म लुकाउने कोसिस हुन्छ । जस्तै: मुटुको सर्जनको नाम जति ठूलो हुन्छ अथवा अंग प्रत्यारोपण गर्नेकाे धेरै पहिचान छ । तर सरुवा रोग हेर्ने डाक्टरप्रति हेर्ने दृष्टिकोण तथा रोगलाई बुझ्ने सोंच बिल्कुल अलग छ । रोग पनि अहिले त सामाजिक प्रतिष्ठा र आर्थिक स्तरबाट मात्र हेर्ने समय आएको देखिन्छ ।
ठूलो रोगको संक्रमण बढ्नु र सरुवा रोगको संक्रमण पढ्नुमा समाजमा धेरै अन्तर छ । वर्गीय अन्तर देखिन्छ । र पनि हामीहरू रोगको निदानतिर मात्रै ध्यान दिन्छौं । मनोबल बढाउने कोसिस हुन्छ । मनोबल बढाएर रोगीलाई प्रोत्साहन दिने अहिले धेरै कम भएको छ । त्यो वातावरण बनाउनुपर्छ भन्ने मेरो विचार हाे ।
जस्तै: कोभिड- १९ का कारण संसारका मानिस एक भए । कोही धनी/गरिब देखिएन । सबैको परिस्थिति एकै रह्यो । ठूला रोगलाग्दा ठूला अस्पताल धाउनेहरू पनि कोभिड महामारीका समय ज्यान बचाउन एक भए । डाक्टरहरू पनि एक भए । रात दिन खटियौं । अहिले सरूवा रोगलाई हेर्ने नजर फरक बनाउनु पर्छ भनेर म लागिरहेको छु । सरुवा रोगप्रति हेर्ने दृष्टिकोण जबसम्म परिवर्तन हुँदैन तबसम्म यस्ता रोगका निदान पनि गाह्रो हुन्छ । सरुवा रोग कहाँ कतिखेर आउने लाग्ने हो पत्तो हुँदैन । सरुवा रोगको बारेमा कसरी बुझाउने भनेर मैले काेसिस गरिरहेकाे छु । तर यो काम एक-दुई जनाले गरेर हुँदैन । सिंगो समाज लाग्नुपर्छ ।
सरुवा रोगको ढाँचामा केही परिवर्तन आएको हो ?
दुई दशक जति भयो, सरुवा रोगको ढाँचामा परिवर्तन देखिएको छ । जस्तै: कुनै समयमा मलेरिया, कालाजार, झाडा-पखाला, जन्डिस जस्ता रोगको नाम धेरै सुनिरहेका हुन्छौं । साथसाथै यसलाई हेर्ने तरिका पनि फरक भइरहेको छ । पहिला- पहिला खानेकुराहरूको माध्यमबाट सर्ने हुन्थ्यो । पहिले हावाबाट सर्ने रोगहरूमा पनि अहिले फरक देख्न सक्छौं । जस्तै कि रुघाखोकी श्वासप्रश्वासमा मिसिएर अर्को निरोगी मान्छेलाई सर्थ्याे । हावाकाे माध्यमबाट सर्थ्याे । अर्को एचआइभीको कुरा गर्ने हो भने यौन सम्पर्क गर्दा अथवा संक्रमित व्यक्तिबाट रगत लिएमा, संक्रमित व्यक्तिलाई रगत दिएमा वा संक्रमित व्यक्तिले प्रयोग गरेको खोप, ब्लेड, कैँची आदि राम्रोसँग सफा नगरी प्रयोग गरेमा सो व्यक्तिलाई संक्रमण हुने खतरा प्रवल हुन्छ ।
सरुवा रोगको वैज्ञानिक क्षेत्रमा अनुसन्धान जारी गर्दा कुन रोग वा महामारीले तपाईंलाई अप्ठ्यारोमा पारेको छ ?
अप्ठ्यारो त नभनौं, पहिला सुरुमा हेर्दा चाहिं हैजाको लक्षणले धेरै दुख दिएको थियो । कालाजार, जापानी इन्सोफ्लाइटिस जस्ता सरुवा राेगले पहिला निकै दुख दिएकाे थियाे । पछिल्लो समयमा अर्को चुनौतीपूर्ण तरिकाले कोभिड आएको थियो, कोभिड नौलो रोग थियो । आगामी वर्षमा फेरि यसभन्दा बढी घातक र सहजै फैलने क्षमता भएको जीवाणुहरूको चुनौती एकदमै ठूलो देख्छु ।
सरुवा रोगको नियन्त्रण गर्नमा स्थानीय सरकारको भूमिका कस्तो रहिदियाेस् भन्ने चाहनुहुन्छ ?
स्थानीय सरकारको सबैभन्दा ठूलो भूमिका रहन्छ किनकि समाजमा फैलिने हो रोग । र समाज त अहिले स्थानीय सरकार हो, केन्द्रीय सरकारलाई त्यति थाहा हुँदैन । जस्तै: डेंगुको बारेमा माथिल्लो पदका मान्छेले आदेश दिनुभन्दा बरु स्थानीय तहका सरकारले गएर खाल्टा-खुल्टी कहाँ छ, ग्यारेज कहाँ छ, लापर्बाही गरेर टायरहरू कहाँ फालेको छ, त्यस्तो कुराहरूको जानकारी लिएर नियन्त्रण गरियो भने स्थानीय सरकारको काम अझ बढी राम्रो हुने देख्छु । हरेक घरमा, हरेक ठाँउमा के कस्तो रोगहरू फैलेको छ, को कसरी बिरामी भएको छ, यस्तो कुराहरू जानकारी स्थानीय सरकारले बाहिर ल्याउन सक्छ । अझ स्थानीय सरकारले त महामारीको बेलामा बढी काम गर्नुपर्ने हुन्छ । जनतासँग प्रत्यक्ष हुने भनेको स्थानीय सरकार हो र त्यसले गाउँगाउँमा हुने रोगको बारेमा जानकारी मात्र पनि गराइदियो भने सर्नबाट रोक्न सकिन्छ ।
सरुवा रोग न्यूनीकरणका लागि के-कस्तो सहकार्य गर्नु भएको छ ?
मैले अहिलेसम्म व्यक्तिगत रूपमा अरू संस्था तथा विशेषज्ञसँग सहकार्य गरेको छैन । अप्रत्यक्ष रूपमा आफ्नो ठाउँमा होला तर आधिकारिक रूपमा हुँदैन, किनभने मेरो अस्पतालमा आफ्नै संरचना छ । माथिल्लो पोष्टका मान्छेहरूले खटाएअनुसार हामीले काम गर्नुपर्ने हुन्छ ।
सरुवा रोगको क्षेत्रमा भएको पछिल्लो रोगको घटनाक्रम र प्रगतिसँग तपाईं कसरी अपडेट रहनुहुन्छ ?
पहिलो कुरा त समाचारबाट नै अपडेट रहन्छु । अर्को कुरा भनेको हामीसँग पनि बिरामीहरू आउँछन् । त्योबाहेक यहाँ नभएको तर नेपालको अरू कुनै ठाउँमा कुनै रोगहरू आउटब्रेक भयो भने पनि हामीले समाचारबाट नै थाहा पाउने हो । त्योपश्चात मेरो मात्र होइन, सरकारको पनि ध्यानाकर्षण हुने हो ।
सरुवा रोगबारे जनतालाई शिक्षा र जानकारी दिन तपाईंले कस्तो प्रभावकारी सञ्चार रणनीतिहरूको विकास गर्नु भएको छ ?
म व्यक्तिगत रूपमा चाहिं प्रशस्त लेखहरू लेख्छु । अनि मेरो आफ्नो विचार पनि टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यमहरूबाट दिन्छु । समस्या परेका बेलामा कसरी हामीले चुनौतीको सामना गर्ने भन्नेमा बढी केन्द्रित हुन्छ । यो चाहिं कुनै संस्थासँग मिलेर गरेको कामभन्दा पनि मेरो व्यक्तिगत काम हो । मेरो पनि उत्तरदायित्व हुन्छ भनेर म आफूले जानेको कुरा सकेसम्म जनतासम्म जाओस् र रोग लाग्नबाट सचेत रहून भन्ने हो ।
तपाईंले कोभिड १९ को बारेमा कम घातक हुने भनेर भविष्यवाणी गर्नु भएको रहेछ, त्यो चाहिँ के-को आधारमा भन्नु भयो ?
जब ओमिक्रोन भेरियन्ट सुरु भएपछिको वैज्ञानिक प्रमाणको आधारमा गरेको थिएँ । हामी आफैंले पनि देखेको कुरा हो । त्यो चाहिं अगाडिको लहरको तुलनात्मक रूपमा कम घातक भनिएको हो । अब चीनमा विभिन्न नामको कोभिड आयो । त्योदेखि मान्छेहरू धेरै त्रासित भइरहेको अवस्था थियो । तर वास्तविकता भनेको फरक थियो ।
फैलनसक्ने क्षमता भएको थियो तर पहिलेजस्तो हानी गर्न नसक्ने क्षमता भएका आधारमा संक्रमण होला तर घातक भने चाहिं अघिल्लो भेरियन्टभन्दा कम थियो । भयो पनि त्यस्तै ।
वर्षौंदेखि रोग देखिरहेको छ । झाडा-पखाला लागिरहेको छ, डेंगु देखिरहेको छ, विभिन्न रोगहरू देखिरहेको छौं । त्यो आफ्नो ठाँउमा छ तर हामीलाई अलि बढी चिन्ता ल्याउने भनेको कोभिडजस्तो अचानक देखिने नौलो रोगबाट भयो । त्यो अवस्थामा सबै तहका सरकार बलियो र चनाखो हुनुपर्छ । त्योसँगै सर्वसाधारण पनि चनाखो हुनुपर्छ । जनशक्तिदेखि लिएर आर्थिक पक्ष सबै सरकारको भएकोले अब त्यहींअनुसार सबैले पछ्याउनु पर्छ । यो चाहिं एउटा मुख्य चुनौती हो नत्र हरेक वर्ष सरुवा रोग देख्नु सामान्य कुरा हुन्छ ।