काठमाडौं । समयमा चेकजाँच हुन नसक्दा राजस्व अनुसन्धान विभाग कन्टेनर तथा मालवाहक ट्रकले भरिभराउ भएको छ ।
राजस्व छलीको आशंकामा राजस्व अनुसन्धान विभागले झण्डै तीन दर्जनभन्दा बढी मालवाहक सवारी साधन नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको छ । तर समयमा चेकजाँच हुन नसक्दा विभाग परिसर मालवाहक कन्टेनर र ट्रकले भरिभराउ भएको हो ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा केही दिन बाहिर रहेका कारण मालवाहक कन्टेनर तथा ट्रकहरूले विभाग परिसर भरिएको हो । नियन्त्रणमा लिइएका गाडीहरू समयमा चेकजाँच हुन नसक्दा समस्यामा परेको व्यवसायीहरूले बताएका छन् ।
भन्सार नाकामा विभागको कडाई
विभागले विराटनगर, वीरगन्ज, भैरहवा, रसुवालगायतका विभिन्न भन्सार नाकाबाट करिब तीन दर्जन ट्रकहरू नियन्त्रणमा लिएको छ । विभागले विभिन्न भन्सार कार्यालयहरूबाट भन्सार पास भएर आएका ट्रकहरू नियन्त्रणमा लिई अनुसन्धान गर्ने कार्यलाई तीव्र पनि बनाएको छ ।
विशेषगरी धेरै राजस्व उठ्ने भन्सार कार्यालयहरू वीरगन्ज, भैरहवा, नेपालगन्ज, कृष्णनगर, जोगवनी, कैलाली, काँकडभिट्टा, रसुवालगायत नाकाहरू रहेका छन् । ती भन्सार कार्यालयबाट सोचेभन्दा कम राजस्व उठेपछि राजस्व अनुसन्धान विभागले ती भन्सार कार्यालयहरूबाट भन्सार पास भएर छुटेका मालवाहक कन्टेनर तथा ट्रकहरूलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेको हो ।
भन्सार नाकाबाट व्यवसायीहरूले सामान ल्याउँदा सेटिङ गर्ने, एउटा सामान देखाएर अर्को सामान ल्याउने, धेरै सामान ल्याएर कम देखाउने, न्यून बिल बिजकमा सामान ल्याउने क्रम बढेपछि विभागले मालवाहक गाडीहरू नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।
विभागमा महानिर्देशक नारायणप्रसाद सापकोटा जिम्मेवारीमा आएपछि मात्र भन्सार नाकाबाट नियन्त्रणमा लिइएका मालवाहक सवारी साधनबाट करोडौँ राजस्व (धरौटी रकम बापत) उठेको छ बताइएको छ । भन्सार नाकाहरूमा समेत राजस्व असुली वृद्धि भएको विभागको भनाई छ ।
विभागले आफ्ना मातहत कार्यालयहरूलाई राजस्व छलीको आशंकामा समाइएका र काठमाडौं गन्तव्य भएका मालवाहक गाडीलाई केन्द्रमा पठाउन भनेको छ ।