काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतको एउटा अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ । आफ्ना दुई महिनाको उपलब्धि सुनाउन रामशाहपथस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले दिएको अभिव्यक्तिलाई लिएर उनको राजीनामा समेत माग्न थालिएको हो ।
दायाँ र बायाँ मन्त्रालयका दुई सचिव राखेर मन्त्री बस्नेतले कर्मचारी सरुवाको प्रसङ्ग निकालेर भने ‘एक जना स्वास्थ्यकर्मीले हाम्रो सचिव ज्यूलाई फलानो ठाउँबाट सरुवा गरिदिनु भयो भने त म आत्महत्या गर्दिन्छु भन्दै धम्की दिँदो रहेछ, मैले सचिवलाई भनिदिएको छु, फेरी पनि त्यो कर्मचारी त्यसरी प्रस्तुत भयो भने डोरी किनेर दिनु र झुन्डिनु भनी दिनु ।’,
‘स्वास्थ्यमा सरुवा गराउन कोही तागत लगाएर आउँछन् । कोही आत्महत्या गर्छु भन्दै आउँछन् । केही मान्छेको सरुवा गरे तर केही मान्छे यही हुनुपर्छ नभए आत्महत्या गर्छु भनेर आएछन् । सचिवज्यूहरू यही दायाँ बायाँ हुनुहुन्छ । एउटा आएर म यही आत्महत्या गर्छु भनेछ । सचिवज्यूहरू त्यस्तो घटना घटिहाल्लाकी, भटाभट आत्महत्या गरिरहेका छन्, डराउनुभएछ अनि म कहाँ आउनुभयो । झन् उहाँको त कमलो मन ,लौन केही गर्नुपर्यो आत्महत्या गर्छु भन्छ भन्नुभयो । मैले त कुरा बुझेको छु । उसो भए डोरी लगेर दिनुहोस्, सचिवज्यू कोमा झुन्डिन मन लागेन भने मन्त्रीको गेटमा गएर झुन्डिन भन्दिनुस् भन्दिए । उहाँहरूले त्यसो भनेपछि उहाँ जुरुक्क उठेर हिँड्नुभयो । यहाँ दंग्याउने घुर्क्याउने धेरै हुन्छन् । सबै कुरा पचाएन भने सकिदैन्,’ उनले भने ।
मन्त्रीको यो अभिव्यक्ति आत्महत्या दुरुत्साहनको मुद्दा पनि बन्न सक्ने भन्दै उनको अभिव्यक्तिलाई लिएर स्वास्थ्य क्षेत्रका ट्रेड युनियनदेखि पूर्व स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले समेत राजीनामा माग गरेकी छिन् ।
एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालले पनि बस्नेत कुनै पनि हिसाबमा पदमा बस्न योग्य नभएको बताएको छ । एक विज्ञप्ति जारी गर्दै सङ्घले आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्तिले मन्त्री जस्तो पदको पदीय गरिमाको अवमूल्यन भएकाले नैतिकता प्रदर्शन गर्न अनुरोध गरेको छ ।