काठमाडौं । अप्रिल १९ देखि जुन १ सम्म हुन लागेको भारतको आमचुनावमा करीब ९७ करोड भारतीय नागरिक मतदान गर्न योग्य देखिएका छन् । यो संख्या विश्वव्यापी जनसंख्याको १० प्रतिशतभन्दा बढी हो, यसको नतिजा घोषणा ४४ दिनपछि जुन ४ मा मात्र सार्वजनिक हुनेछ ।
विशाल आकार र विश्वको सबैभन्दा धेरै जनसंख्या भएकाले गर्दा भारतको निर्वाचन चरणवद्ध रूपमा लामो समयको अन्तरालमा सम्पन्न हुन्छ ।
बेलायती शासनबाट स्वतन्त्र भएपछि सन् १९५१–५२ मा भएको भारतको पहिलो निर्वाचनमा मतदान गर्न करीब ४ महिना लागेको थियो । सन् १९८० मा भने जम्मा ४ दिनमा निर्वाचन गरिएको थियो ।
सन् २०१९ को निर्वाचनमा मतदान गर्न ३९ दिन लागेको थियो । यो वर्ष हुने भारतको आमनिर्वाचन हालसम्मको दोस्रो लामो निर्वाचन हो ।
मतदाता संख्या ९६ करोड ९० लाख दर्ता भएसँगै भारतको मतदाताको आकार युरोपेली संघको जनसंख्याभन्दा ठूलो भएको छ ।
संसद्को तल्लो सदनका लागि ५४३ सांसद चयनका लागि ७ चरणमा मतदान हुने भएको छ । भारतको २८ राज्य र ८ संघीय क्षेत्रले फरक–फरक समयमा मतदान गर्नेछन् । अप्रिल १९ मा सुरु भएर जुन १ मा अन्त्य हुने निर्वाचनको प्रत्येक चरण १ दिनको हुनेछ ।
‘निर्वाचन अधिकारीहरूले लामो यात्रा गरेर भए पनि हरेक मतदाताको मताधिकार सुनिश्चित गर्नुपर्छ,’ पीआरएस लेजिस्लेटिभ रिसर्चका चक्षु रोयले भने ।
निर्वाचनमा खटिएका लगभग १ करोड ५० लाख मतदान अधिकारी र सुरक्षाकर्मीले देशको कुना–कुनामा पुगेर हरेक नागरिकको मताधिकार सुनिश्चित गर्ने व्यवस्था मिलाइएको भारत सरकारले जनाएको छ ।
सन् २०१९ मा भएको चुनावमा एक मतदाताको लागि मतदान अधिकारीको टोली ४ दिनसम्म ४८० किलोमिटर यात्रा गरेर भारतको दुर्गम अरुणाचल प्रदेश पुगेका थिए ।
निर्वाचनमा मतदान अधिकारीहरूले हिमालयको अग्लो स्थानमा रहेको एक गाउँमा १५ हजार २५६ फिट अग्लो बुथ स्थापना गरेका थिए, जुन विश्वको सबैभन्दा अग्लो मतदान केन्द्र हो ।
यसपटकको निर्वाचनमा पनि दक्षिणी केरला राज्यको वन्यजन्तु आरक्षभित्र र अर्को पश्चिमी गुजरात राज्यको ढुवानी कन्टेनरजस्ता दुर्गम स्थानहरूमा मतदान केन्द्रहरू स्थापना गरिने छ ।
विज्ञहरूका अनुसार सुरक्षाको दृष्टिकोणले पनि भारतमा धेरै चरणमा निर्वाचन हुन लागेको हो । कडा सुरक्षाका कारण वर्षौंदेखि मतदान शान्तिपूर्ण र सम्मानजनक रूपमा हुँदै आएको छ ।
सिमानाको रक्षामा खटिएका दशौं हजार संघीय सुरक्षा बलहरू राज्य प्रहरीसँगै हिंसा रोक्न र मतदान मशिनहरूको ढुवानीमा खट्ने भएका छन् ।
‘देशको भूगोल ठूलो छ । सुरक्षा बलहरूले देशको खोला, पहाड, जंगल, लम्बाई तथा चौडाइ घुम्नुपर्ने हुन्छ । मतदातालाई मतदान गर्न सहज बनाउन हामी सक्दो कोसिस गर्नेछौं,’ प्रमुख निर्वाचन आयुक्तले भने ।