म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङमा ५ वटा पुल निर्माण भएका छन् ।
बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा ४ र थासाङ गाउँपालिकामा १ पुल निर्माण भएको हो ।
पुल निर्माणपछि खोलाबाट सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए ।
लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ–अमित जेभीले विक्रम संवत् २०७६ असार ३१ गते २३ करोड ७९ लाख ७२ हजार ९५१ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । कालिका–गजुरमुखी जेभीले विक्रम संवत् २०७६ चैतमा ७ करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल पनि निर्माण सकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिए ।
सूचना अधिकारी चापागाईंका अनुसार २० मिटर लामो लोमान्थाङ खोला मोटरेबल पुल निर्माणका लागि ४ करोड ६८ लाख २ हजार ६३८ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ५० मिटर लम्बाइको किम्लिङखोला पुलको लागत ६ करोड ३० लाख, ५० मिटर लामो नाम्डोकखोला पुलको लागत ६ करोड ३७ लाख र ८० मिटर लम्बाइको भर्माखोला पुलको लागत ६ करोड ८५ लाख रहेको छ ।
विक्रम संवत् २०७४ सालमा सुरु भएको २०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ पक्की पुल र ३ वटा बेलिब्रिज निर्माण सकिएका छन् । म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङखोलामा ११५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो ।
पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०–७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव २ मिटर र जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से, बेनी–बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङखोलामा बेलिब्रिज निर्माण भएको छ । थासाङ गाउँपालिकाको सेतोखोलामा मोटरेबल पुल निर्माण थालिएको छ ।
पर्वतको मालढुुंगाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने सडक २ लेनको कालोपत्र र ग्राभेल बनाउन २०७३/७४ देखि सुुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख धु्रव झाले बताए । विभिन्न ६ स्थानमा ८५ किलोमिटर ग्राभेल र ३ वटा खण्डको २२ किलोमिटर सडक कालोपत्र गरिएको छ ।