काठमाडौं । तस्करहरूले नयाँ नयाँ शैली अपनाएर तस्करीका सामानहरू भित्राउने गरेका छन् । यसै क्रममा गाडीमा प्रेस लेखेर तस्करी गर्ने गरेको पाइएको छ ।
यसैक्रममा प्रहरीले प्रेस लेखेको गाडीभित्र राजस्व छलीका रजनीगन्धादेखि गुट्खासम्मका सामान सहित पक्राउ गरेको छ । ललितपुरको चापागाउँबाट प्रहरीले राजस्व छली गरेको सामान लिएर हिँडेको गाडीसहित २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार प्रेस लेखिएको गाडीभित्रबाट म्याद गुज्रिएको ३ थान प्रेस पाससमेत भेटिएको छ । यसरी पक्राउ पर्नेहरूमा बाराको जितपुर सिमराका ३४ वर्षीय दीपकप्रसाद र भारत बिहारका २८ वर्षीय सचिनकुमार चौरसिया रहेका छन् ।
उक्त गाडीभित्रबाट राजस्व छलीका करिब २० लाख रुपैयाँ बराबरका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुट्खा, कत्था बरामद भएको ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।