काठमाडौं । नेकपा माओवादी केन्द्रले सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको जनाएको छ ।
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले शोक वक्तव्य जारी गर्दै दाहालले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुऱ्याएको उल्लेख गरेका हुन् ।
दाहालले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेलेको योगदानको उच्च सम्मान गर्दै माओवादी केन्द्रले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
‘प्रधानमन्त्री तथा हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसंगिनी तथा पार्टी केन्द्रीय सल्लाहकार कमरेड सीता दाहालको आज बिहान ८ : ३३ बजे नर्भिक अस्पताल, काठमाडौंमा दुखस्द निधन भएकोमा हाम्रो सिङ्गो पार्टी स्तब्ध भएको छ ।’ वक्तव्यमा भनिएको छ, ‘सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समर्पण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ ।’
सल्लाहकार दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको महासचिव गुरुङले जानकारी दिए ।
वि।सं। २०११ असार २१ गते कास्की जिल्लाको हेम जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीता दाहालको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो । वि.सं. २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सल्लाहकार थिइन् ।
पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका आँधीमय वर्षहरूमा सिङ्गो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् । पछिल्लो समय उनी पार्किन्सनजस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित हुँदै आउकी थिइन् ।
भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु दाहाल भरतपुर महानगरकी मेयर र गङ्गा दाहाल प्रधानमन्त्रीकी स्वकीय सचिव छिन् ।