मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को साविक नयाँ बेलाहानी गाविसका पूर्व अध्यक्ष भूपलाल अर्यालको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
मध्यविन्दु नगरपालिका–११ को कोटथर गरगरेमा आज अटो दुर्घटनामा घाइते भएका अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी वेदबहादुर पौडेलले बताए ।
मध्यविन्दु–११ को दमारबाट अरुणखोलातर्फ आउने क्रममा अर्याल सवार ग प्र ०४–००१ ह ००४ नम्बरको अटो दुर्घटना भएको थियो । दुर्घटनामा घाइते उनलाई मध्यविन्दु जिल्ला अस्पतालबाट थप उपचारका लागि चितवन लगिएको थियो ।
दुर्घटनामा घाइते मध्यविन्दु नपा–१० की ७६ वर्षीय टीकादेवी काफ्लेको र ७० वर्षीय तोयानाथ पोख्रेलको अहिले पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । उनीहरूको अवस्थामा मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेको अटोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विक्रम संवत् २०५४ सालमा नेकपा एमालेको तर्फबाट नयाँ बेलाहानी गाविसको अध्यक्ष पदमा निर्वाचित अर्याल नैतिकवान् व्यक्तिका रूपमा परिचित थिए । उनको कार्यकालमा देशभरको उत्कृष्ट गाविसका रूपमा नयाँ बेलाहानी गाविस सम्मानित समेत भएको थियो । निर्णय प्रक्रिया, परादर्शिता, जनसहभागिता लगायतका पक्षको मूल्यांकनमा नयाँ बेलाहानी गाविस उत्कृष्ट बनेको थियो ।
लामो समयदेखि सामाजिक तथा रानीतिक कार्यमा क्रियाशील अर्याल हाल मानवअधिकार समूह मध्यविन्दुका अध्यक्ष थिए । उनी एमालेको जिल्ला कमिटी सदस्य एवं मध्यविन्दु नगर सहइन्चार्जको जिम्मेवारीमा रहेका थिए ।