काठमाडौं । रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उनीहरूका निकटस्थ पारिवारिक सदस्यको ‘डीएनए’ नमूना पठाइदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुरलर सेवा विभागले सम्पर्कमा आएका सम्बन्धित व्यक्तिमध्ये मंगलबार ७ जना र बुधबार १ जनाको ‘जेनेटिक टेस्ट’ गर्न नेपाल प्रहरी केन्द्रीय कार्यालयमा पठाएको जनाएको छ ।
विभागले खोमबहादुर भुजेल, विमलकुमार गजमेर, प्रेमप्रकाश न्यौपाने, भीमबहादुर विक, क्षितिज बस्नेत, सोमेश सुनुवार, विजयबहादुर थोकर र जीतेन्द्रबहादुर घिसिङका आफन्तको ‘डीएनए’ परीक्षणका लागि पठाएको छ ।
रुसी सेनामा भर्ना भएका नेपालीमध्ये पछिल्लो समय थप १५ जनाको मृत्यु भएको आशंका गरिएको छ । मृत्यु भएकामध्ये नेपालीको शव पहिचान र ‘जेनेटिक टेस्ट’का लागि उनीहरूका निकटस्थ पारिवारिक सदस्यको डीएनए नमूना पठाइदिन रुस सरकारले मस्कोस्थित नेपाली राजदूतवासमार्फत आग्रह गरेको थियो ।
नेपाल प्रहरीबाट डीएनएको रिपोर्ट आएलगत्तै विवरण मस्को पठाइने विभागका महानिर्देशक प्रकाशमणि पौडेलले जानकारी दिए । उनका अनुसार विभागमा हालसम्म रुसी सेनामा भर्ना भएकामध्ये २७१ नेपाली नागरिकका आफन्तले उद्धार तथा खोज यकिन गरिपाउँ भनेर आवेदन दिएका छन् ।
परराष्ट्र मन्त्रालयले यसअघि पटक–पटक गरी रुसी सेनामा भर्ना भएकामध्ये १७ नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरिसकेको छ ।