जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका भित्रका सरसफाइकर्मीका लागि ३ दिवसीय निःशुल्क स्वाथ्य शिविर तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकासँगको सहकार्यमा नेपाल विकास समाजले सरसफाइकर्मीका लागि १० गतेसम्म निःशुल्क स्वास्थ्य परीक्षणसहित अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम शुभारम्भ गर्दै जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले नगरलाई सफा राख्ने जिम्मेवारीमा रहेका व्यक्तिको स्वास्थ्य सुरक्षा जरूरी रहेको भन्दै त्यसका लागि नेपाल विकास समाजसँग मिलेर काम भइरहेको बताए ।
उनले सरसफाइकर्मी सधैं जोखिममा हुने भएकाले सुरक्षा सतर्कताका उपाय, उपकरण, त्यसको उपयोग र स्वास्थ्य स्थितिबारे सजग गराउन यस्ता खाले कार्यक्रमले महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
उपमहानगरपालिकाका उपप्रमुख किशोरी साले सरसफाइकर्मी स्वस्थ भएमा मात्रै उपमहानगरपालिका सफा रहने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षा प्रमुख शर्त भएको बताए ।
आयोजक नेपाल विकास समाजका परियोजना निर्देशक गीता साहले सफाइकर्मीको स्वास्थ्य सुरक्षा र मर्यादित जीवनका लागि उनीहरूको अवस्था पहिचान, त्यसको निरुपण तथा सचेतना फैलाउने उद्देश्यले स्वास्थ्य शिविर तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए । त्यसअवसरमा ज्याकेट, बुट, पञ्जा लगायतका स्वास्थ्य सामग्री समेत वितरण गरिएको छ ।
‘हामीले देशका ५ वटा जिल्लाका मुख्य शहरलाई लक्षित गरी घरेलु फोहरको उचित व्यवस्थापनमार्फत् नेपालमा जनस्वास्थ्य तथा वातावरणीय स्वास्थ्यमा सुधार परियोजना (सोलिड हेल्थ) कार्यान्वयन गरिरहेका छौं । त्यसमा सफाइकर्मीको स्वास्थ्य सुरक्षा र मर्यादित जीवनका लागि काम गर्नु एक मुख्य कार्य हो,’ साहले भने, ‘त्यहीक्रममा जनकपुरधामका सरसफाइकर्मीको स्वास्थ्य अवस्था पहिचान, सुरक्षा सतर्कताबारे सचेतना अभिवृद्धि गर्ने र उनीहरूका लागि आवश्यक उपचार तथा उपकरण दिन यो कार्यक्रम आयोजना गरिएको हो ।’
यस्तो कार्यक्रम चितवनको भरतपुर महानगरपालिका, मोरङको विराटनगर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा सञ्चालन भइरहेको पनि साहले बताए ।
३ दिनमा उपमहानगरका १८५ जना सरसफाइकर्मीमा हेपाटाइटिश बी, एचआईभी, क्षयरोग, पिसाब तथा सुगरको परीक्षण गर्ने र रोग पहिचान भएमा औषधि समेत वितरण गरिने आयोजक संस्थाका कार्यक्रम अधिकृत दीपनबहादुर तिवारीले जानकारी दिए ।
सामान्य स्वास्थ्य सुरक्षा सतर्कता समेत नअपनाई काममा खटिँदै आएका सरसफाइकर्मी सचेतना र आर्थिक समस्याका कारण उपचारका लागि अस्पताल जान नसक्ने अवस्थालाई मध्यनजर गरी स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको तिवारीले बताए ।