काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले समाजवादी मोर्चा बनाउने सोचले नयाँ सत्ता समीकरण नगरेको बताएका छन् ।
नेकपा एमाले बागमती प्रदेश कमिटीले भक्तपुरमा आयोजना गरेको बागमतीका जिल्ला अध्यक्ष तथा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै पोखरेलले अहिले मोर्चा बनाउने वा वामपन्थी गठबन्धन बनाउने सोचका साथ सत्ता परिवर्तनको काम नभएको बताए ।
‘बाहिर चर्चामा आए जस्तो अहिले नै समाजवादी मोर्चा बनाउने, वामपन्थी गठबन्धन निर्माण गर्ने भन्ने सोचबाट निर्देशित भएर हामीले यो कामहरू गरेको होइन, अहिले संसदमा रहेको वामपन्थी दलहरू मात्रै मिलेर वैकल्पिक सरकार दिन सक्ने अवस्था पनि छैन,’ उनले भने ।
वामपन्थी गठबन्धन वा समाजवादी मोर्चा जस्ता कुरा गर्न थालियो भने अर्को मोर्चा पनि तयार हुन सक्दछ भन्ने कुरा बुझ्नुपर्ने उनले बताए । ‘जे सच्चाइ हो त्यो सच्चाइलाई बुझेर नै प्रतिकूलतालाई अनुकूलतामा बदल्नु पर्दछ भन्ने मान्यता राख्यौं, हामीले राखेका छौं,’ पोखरेलले भने ।
४ पार्टीसँग एकीकृत समाजवादीलाई पनि जोड्नुपर्छ भनेर मेहनतका साथ एकीकृत समाजवादी पार्टीलाई सरकारमा जोडेको पोखरेलले बताए । अहिले यही समीकरणलाई सहज रूपमा अघि बढाउने हिसाबले काम गर्नुपर्नेमा पोखरेलले जोड दिए । अहिलेको सहकार्य सरकार निर्माणको लागि मात्र भएको उनले स्पष्ट पारे ।
एमालेको ध्यान अहिले पनि मिसन २०८४ मा नै केन्द्रित रहेको उनले बताए । एमालेले भविष्यलाई हेरेरै अहिलेको सत्ता सहकार्य गरेको पोखरेलले प्रष्ट पारे ।
अर्को प्रसङ्गमा पोखरेलले एमाले सत्ताबाट हटेपछि स्थानीय तहले पनि समस्या भोग्नुपरेको बताए । गएका २ वर्ष स्थानीय तहले बजेट कटौतीको मार खेप्नुपरेका कारण विकासका काम प्रभावित भएको उनले बताए । ‘त्यस्तो अवस्थामा जनतासँग कसरी जोडिने भन्ने कुरा थप चुनौतीपूर्ण बन्न पुगेको छ,’ उनले भने ।