काठमाडौं । संयुक्त राष्ट्रसंघका एक अधिकारीले शुक्रबार सिरियाका लागि करीब ४ अर्ब डलरको मानवीय सहयोगको अपिल गरेका छन् ।
उनले कोष करीब अस्तित्वमा नभएको भन्दै सहयोगको कमीले थप सिरियालीहरूको पलायनलाई प्रेरित गर्ने चेतावनी दिए ।
१३ वर्षअघि सरकारविरोधी प्रदर्शनको दमनका साथ सुरु भएको सिरिया युद्धबाट ५ लाख ७ हजारभन्दा बढीको मृत्यु भएको छ भने लाखौं मानिस विस्थापित भएका छन् । मुलुकको अर्थतन्त्र, पूर्वाधार उद्योग तहसनहस भएको छ ।
‘सन् २०२४ मा हामीले सहायताको आवश्यकता भएका १ करोड ६७ लाख सिरियाली नागरिकमध्ये १ करोड ८ लाखको जीवन बचाउन सहयोग प्रदान गर्नका लागि ४ अर्ब ७ करोड डलरको अपिल गर्दैछौं,’ सिरियाका लागि संयुक्त राष्ट्रसंघका निवासी एवं मानवीय समन्वयक एडम अब्देलमौलाले भने, ‘मुलुकभरमा कम्तीमा १ करोड २९ लाख मानिस खाद्य असुरक्षामा छन् ।’
मार्च १ मा यस वर्षको मानवीय प्रतिक्रिया योजना आवश्यकताहरूको केवल शून्य दशमलव २ प्रतिशत कोषको व्यवस्था गरिएको भन्दै उनले यसको अर्थ जीवन बचाउने कार्यक्रम र सेवाहरूमा कटौती गरिएको वा कम गर्दै गइरहेको बताए ।
निष्क्रियताले कम्तीमा २५ लाख बालबालिकाले विद्यालयमा फर्कने अवसर गुमाउने छन् भन्दै अब्देलमौलाले प्रजनन् उमेरका करीब २३ लाख महिलाले महत्त्वपूर्ण प्रजनन् र मातृ स्वास्थ्य सेवामा पहुँच गुमाउन सक्ने बताए ।
उनका अनुसार गाजा क्षेत्रमा प्यालेस्टिनी लडाकू समूह हमाससँग इजराइलको युद्धका कारण वैश्विक ढुवानी अवरोधले सिरियामा वस्तुको मूल्यमा वृद्धि र मुलुकमा लक्ष्यहरूविरुद्ध इजराइली हवाई आक्रमणमा उल्लेखनीय वृद्धि भएको छ ।
सन् २०११ मा गृहयुद्ध सुरु भएदेखि नै इजराइलले सिरियामा सयौं हवाई आक्रमण गरेको छ । यसमा हिजबुल्लाहसहित इरान समर्थित बलहरूका साथै सिरियाली सेनाका स्थानहरूमा पनि निशाना बनाइएको छ । यद्यपि अक्टोबर ७ मा हिजबुल्लाहको सहयोगी हमाससँग इजराइलको युद्ध सुरु भएपछि आक्रमण बढेको छ ।