काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा आफ्नो नाममा ल्याएको छ ।
मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
सरकारले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा सरकारको नाममा फिर्ता समेत ल्याएको उनले जानकारी दिए । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो ।
भूमि सुधार तथा मालपोत कार्यालयको आज शुक्रबार बसेको बैठकले जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको छ ।
सीआईबीले ३ महिनाभन्दा बढीको समय अनुसन्धान गरेर सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै ३ जनालाई पक्राउ गरेको थियो । कारखानालाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाइएको थियो ।
मालपोत कार्यालय डिल्लीबजारले १० रोपनी जग्गा फिर्ता गर्न गत माघ २५ गते च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) बाँसबारीको नाममा पत्र काटेको थियो । मालपोतले २१ दिनभित्र प्रतिनिधि कार्यालयमा हाजिर हुनू र नआएमा कानून बमोजिम हुने भन्दै पत्र काटेको थियो । टोखा नगरपालिका–६ का अध्यक्षको रोहबरमा चाँदवागका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरको नाममा पत्र काटेको थियो ।
पत्रविरुद्ध सञ्जयले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।