काठमाडौं । तीन भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लब बुटवलले आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ फाइनलमा नेपाल पुलिस क्लबलाई ३-१ ले हराउँदै उपाधि जितेको छ ।
आज भएको फाइनलमा एभरेष्टले पुलिसलाई १९-२५, २५-२२, २५-१८, २५-१९ ले हराउँदै च्याम्पियन बनेको हो । पहिलो सेटमा पुलिसले ४-१ को अग्रता लिए पनि एभरेस्टले उत्कृष्ट पुनरागमनका साथ अघि बढेको थियो । तीन भारतीय खेलाडी जेन्सी जोनसन, केपि अनुश्री, सुर्याले पुलिसलाई दबाबमा राखेका थिए । १६-१६ बराबरी गरेको पुलिसले त्यसपछि २ अंकको अग्रता लिएको थियो ।
पुलिसले एभरेस्टको कमजोर रिसिभको फाइदा उठाउँदै २२-१९ ले अघि भएपछि पहिलो सेटमा जितको आधार बनाएको थियो । उषा भन्डारीले लगातार तीन अंक सर्भिसमा जोडेपछि पुलिस २५-१९ ले विजयी भएको थियो । तीन सर्भिसको रिसिभ रिचा थापाले मिस गरेकी थिइन् ।
दोस्रो सेटमा पुलिसले सुरुवातमा ४-१ को अग्रता लिएको थियो । एभरेष्टले पुनरागमन गरेको थियो । ५-५ बराबरीबाट एभरेष्टले लगातार ३ अंक जोडेपछि पुलिसले पहिलो टाइम आउट लिएको थियो ।
पुलिसले १६ मा गएर बराबरी गरेको थियो । २२ बराबरबाट एभरेष्टले लगातार ३ अंक जोड्दै जित हात पारेको थियो ।
तेस्रो सेटको सुरुवातमा एभरेष्टले ६-२ को अग्रता लिएको थियो । सुरुवातमा ५ अंकले पछि परेपछि पुलिसले पहिलो टाइम आउट लिएको थियो । तेस्रो सेटमा एभरेष्टले २५- १८ को सहज जित हात पारेको थियो ।
चौथो सेटमा एभरेष्टले १०-६ को राम्रो सुरुवात गरेको थियो । पुलिसकी प्रमुख स्पाइकर उषा भण्डारीको प्रदर्शन भने फाइनलमा राम्रो हुन सकेन । सहज जित हात पार्यो ।