दमौली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा. नवराज लम्साललाई प्रदान गरिएको छ ।
तनहुँको ऋषिङ गाउँपालिकाको सभाहलमा आज शनिबार आयोजित कार्यक्रममा डा. लम्साललाई पुरस्कार प्रदान गरिएको हो ।
क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापित पुरस्कारको राशि २५ हजार रहेको छ ।
गीतल राष्ट्रिय पुरस्कार–२०८०, तिला लेकाली (मोरङ) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । नेपाल अधिराज्यमा वाङ्मय पुरस्कार डा. रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि १० हजार रहेको छ ।
गीतल प्रतिभा पुरस्कार–२०८० शोभासिंह ठकुरी (तनहुँ) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि ५ हजार रहेको छ ।
संघीय सांसद रेखा यादवले सम्मानित व्यक्तित्वलाई पुरस्कृत गर्दै कला र साहित्यका क्षेत्रबाट देश विकासका लागि सकारात्मक दबाब सिर्जना गर्न आग्रह गरे । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले तनहुँ कला, संस्कृति र साहित्यमा धनी रहेको चर्चा गर्दै साहित्यको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए ।
साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई प्रतिष्ठानले हरेक वर्ष पुरस्कृत गर्दै आएको प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । मञ्चले विगत ६ वर्षदेखि विभिन्न व्यक्तिहरूलाई पुरस्कारबाट सम्मान गर्दै आएको छ । क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार भने गत वर्षदेखि प्रदान गर्न थालिएको थियो ।
पहिलो वर्ष उक्त पुरस्कार वरिष्ठ साहित्यकार गुल्मीमा जन्मिएर हाल काठमाडौं बुढानिलकण्ठ निवासी डा. रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको थियो ।
मोफसल बाहिर रहेर गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले तनहुँ जिल्लामा विभिन्न औपचारिक, अनौपचारिक गतिविधिहरूमा संलग्न रहँदै भाषा साहित्य, कला, संगीत र नाट्य क्षेत्रमा कार्य गर्दै आएको सचिव माधव अधिकारीले बताए ।