लेखनाथ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि एमाले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन् ।
एमाले कास्कीको ११औं जिल्ला अधिवेशनको आज शनिबार पोखरामा उद्घाटन गर्दै उनले भने, ‘माओवादी केन्द्र लगायतसँगको नयाँ समीकरण र सहकार्य देशको समृद्धि र विकासका लागि हो । हामी जनतालाई राज्यसँग जोड्दै अगाडि बढ्छौं ।’
कमजोर राज्य व्यवस्थाले जनतालाई आशा जगाउन नसक्ने भएकाले जनतामा आशा जगाउन एमाले त्यसतर्फ अघि बढेको उनले बताए । नेपालमा लामो समयदेखि कायम राजनीतिक अस्थिरता हटाउँदै जनताको बहुदलीय जनवादलाई अगालेर अगाडि बढ्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । केही हप्ताअघि माओवादी केन्द्रसँग भएको समीकरण देशलाई अग्रगमनतर्फ लैजाने उद्देश्यले भएको दाबी उनको छ ।
नेपाली युवाले विदेशबाट पठाएको रेमिट्यान्स घरायसी खर्च नगरी बचत गर्ने प्रवृत्तिको विकास गर्न जरुरी भएको उनले बताए । नेपाली युवाले विदेशबाट पठाएको पैसा घर खर्चमा प्रयोग हुँदा पुँजी निर्माण हुन नसकेकोप्रति पनि उनले चिन्ता व्यक्त गरे ।
शिक्षा पद्धतिमा परिवर्तन ल्याएर नेपालको शैक्षिक जनशक्तिलाई नेपालमा नै रोक्ने कार्यको थालनी गर्न जरुरी रहेको बताउँदै उनले यसका लागि सरकारले योजना ल्याउने उल्लेख गरे ।
विक्रम संवत् २०४७ सालको संविधान केही कमजोरी भएकाले पूर्व राजा ज्ञानेन्द्रले चलखेल गर्ने बाटो पाएको बताउँदै महासचिव पोखरेलले अहिले पनि पुराना पार्टीलाई कमजोर बनाउन अनेकौं षड्यन्त्र भइरहेको दाबी गरे ।
एमाले सचिव गोकर्ण विष्टले देशलाई समृद्धिको बाटोतर्फ अगाडि बढाउन राजनीतिक दल एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । जबसम्म देशलाई समृद्धितर्फ लैजान सक्दैनौं, तबसम्म नेपालको शैक्षिक जनशक्ति रोजगारीका लागि विदेश जाने क्रम नरोकिने विष्टको भनाइ छ ।
सो अवसरमा नेता पद्मा अर्याल, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, संसद् विद्या भट्टराई लगायतले ११औं अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए । महाधिवेशन २ दिनसम्म चल्नेछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।