काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग बंगलादेशका शिपिङ राज्यमन्त्री खालीद महमुद चौधरीले द्विपक्षीय हितका विषयमा भेटवार्ता गरेका छन् ।
भेटका क्रममा मन्त्री भण्डारीले पछिल्ला वर्षमा बंगलादेशबाट नेपालमा हुने आयातको परिमाण उल्लेख्य वृद्धि भए पनि नेपालबाट बंगलादेश हुने निर्यातको मात्रा भने न्यून नै रहिआएको भन्दै २ मुलुकबीचको व्यापारको हिस्सालाई वृद्धि गर्नुपर्नेमा जोड दिए ।
बंगलादेश नेपालको महत्त्वपूर्ण व्यापार साझेदारका रूपमा रहिआएको स्मरण गराउँदै मन्त्री भण्डारीले द्विपक्षीय व्यापार सम्बन्धलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए ।
दूध तथा दुग्धजन्य उत्पादन, तरकारी, फलफूल, जडीबुटी तथा वनस्पतिजन्य उत्पादन, धागो र औषधिजन्य उत्पादन लगायत विभिन्न वस्तुका लागि बंगलादेश नेपालको सम्भाव्य बजारका रूपमा रहेकाले उच्च भन्सार महसुल तथा गैरभन्सारजन्य अवरोधका कारणले नेपाली उत्पादनले बंगलादेशी बजारमा पर्याप्त पहुँच प्राप्त गर्न नसकेकाले त्यसको पहलकदमीका लागि उद्योगमन्त्री भण्डारीले आग्रह गरे ।
सन् २०१० देखि २ देशबीचको सौविध्यपूर्ण व्यापार सम्झौता सम्बन्धमा वार्ता भइरहेको स्मरण गराउँदै मन्त्री भण्डारीले दुवै देशको आर्थिक हितलाई प्रवर्द्धन गर्ने गरी सम्झौतालाई अन्तिम रूप दिन दुवै पक्षले आफ्नो प्रयास केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याए ।
नेपालको तेस्रो देशसँगको व्यापारका लागि चटगाउँ र मोङ्गलापोर्ट प्रयोग गर्ने पारवहन सुविधा प्रदान गरेकामा बंगलादेश सरकारलाई धन्यवाद दिँदै उनले सामुन्द्रिक बन्दरगाहको उपयोगमार्फत पारवहन सम्बन्धलाई सुदृढ बनाउन रोहनपुर–सिंहवाद रेलवे र अन्य पारवहन रुट सञ्चालनका लागि राज्यमन्त्री चौधरीसँग उनले आग्रह गरे ।
उद्योगमन्त्री भण्डारीले नेपाल–बंगलादेश व्यापारका लागि काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध रूट प्रयोग हुँदै आइरहेका र नेपाली ट्रकले भारतको फूलबारी भन्सार विन्दुबाट मात्र बंगलादेशबाट आयात भएका वस्तु ल्याइरहेकाले त्यसले पारवहन लागत बढ्न गएको पनि उल्लेख गरे ।
विगतमा भएका वाणिज्य सचिव स्तरीय बैठकमा नेपालले बंगलादेशका जलमार्ग उपयोग गर्ने सम्बन्धी अवधारणापत्र प्रस्तुत गरेको स्मरण गराउँदै मन्त्री भण्डारी भने, ‘नेपाल र भारतबीचको पारवहन सन्धिले अन्तरदेशीय जलमार्गमा पहुँचको व्यवस्था गरेको छ, जलमार्ग सम्बन्धमा नेपालको प्रस्तावउपर भएको प्रगति र यसलाई नेपालले उपयोग गर्ने सम्भावना सम्बन्धमा बंगलादेशको धारणाको अपेक्षा गरेको छु ।’
भारतीय प्रसारण लाइनमार्फत नेपाल र बंगलादेशबीचको ऊर्जा व्यापारका लागि भारतीय पक्ष सहमत भएको विषय दुवै पक्षका लागि सुखद् रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले ऊर्जा क्षेत्रमा बंगलादेशको लगानी सुनिश्चित गर्न आग्रह गरे ।
उनले राज्यमन्त्री चौधरीलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक क्रियाकलाप, जैविक विविधताका दृष्टिले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा रहेको बताउँदै बंगलादेशी पर्यटक नेपाल आउनेमा आशा व्यक्त गरे ।
अति कम विकसित मुलुकका रूपमा समेत सहयोगको विस्तार गर्दै संयुक्तरूपमा आवाज उठाउने एवं संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा उम्मेदवारी लगायतका विषयमा समेत २ देशबीच सहयोग आदानप्रदान हुँदै आएको स्मरण गराउँदै मन्त्री भण्डारीले यस किसिमको सहयोग अझ विस्तार हुनेमा जोड दिए ।
भेटका क्रममा बंगलादेशका राज्यमन्त्री चौधरीले मन्त्री भण्डारीले राखेका कुरा अत्यन्त सकारात्मक र सान्दर्भिक रहेको उल्लेख गर्दै आफू बंगलादेश फर्केर प्रधामन्त्रीको ध्यानाकर्षण गराउने बताए ।
उनले नेपाल र बंगलादेशको निजी क्षेत्रलाई जोड्नुपर्नेमा जोड दिए । राज्यमन्त्री चौधरीले आगामी अप्रिलमा हुने २ देशका सचिव र सहसचिवस्तरीय बैठकमा व्यापारमा देखापरेका समस्या समाधान गर्नुपर्ने बताए ।