काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छाैं’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिएका छन् ।
तीमध्ये ३७ हजार ४४७ जना मात्र उपचारमा दायरामा आएको देखिन्छ । यसैगरी क्षयरोगकै कारण बर्सेनि १८ हजारको मृत्यु हुने तथ्यांकले देखाउँछ ।
क्षयरोग ‘माइको ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको संक्रमणका कारण हुने संक्रमणजन्य सरुवा रोग हो । क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा किटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ ।
केन्द्रका निर्देशक डा. प्रज्ज्वल श्रेष्ठले भने, ‘क्षयरोगको जोखिम १५ देखि ४४ वर्ष उमेर समूहका छन् । पछिल्लो वर्षमा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ ।’
हाल नेपालभर ६ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोग विरुद्धको औषधि निःशुल्क उपलब्ध छन् । क्षयरोगको जोखिममा कुपोषण भएका, धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी संक्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस उच्च जोखिम गर्दछन् ।
उनले ‘क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत हाल १२५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिँदै क्रमशः ७५३ वटै स्थानीय तहमा लागू गरिने बताए ।
नेपालले सन् २०५० सम्ममा क्षयरोगमुक्त बनाउने लक्ष्य लिएको छ ।