काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररूपमा भइरहेको छ ।
३ वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै २ चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो ।
सडक विस्तारका क्रममा बनेपा नगर र धुलिखेल नगरमा बिछ्याइएका खानेपानीका पाइप र ढल व्यवस्थापनमा कठिनाइ भएको छ । सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका इन्जिनीयर विष्णुप्रसाद खनालका अनुसार यी २ नगरमा सडकमुनि विभिन्न खानेपानी आयोजनाका पाइप र पुराना अव्यवस्थित ढलका पाइप बिछ्याइएकाले यसको व्यवस्थापनमा समस्या भएको छ ।
सूर्यविनायक–धुलिखेल कूल १५ दशमलव ५ किलोमिटर लामो सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलसम्म ८ दशमलव ४ किलोमिटर सडकखण्ड विस्तार कार्यका १ वर्षअघि सुरु गरिएको थियो । आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्ड भने ७ दशमलव ५ किलोमिटर रहेको छ ।
विशेषगरी बनेपा नगरको मुख्य बजार क्षेत्र पुल बजारदेखि बुडोलस्थित चण्डेश्वरी खोलासम्मको ३ दशमलव २ किलोमिटर सडक दायँबायाँ पुरिएका खानेपानी र ढल व्यवस्थापनमा चुनौती देखिएको इन्जिनीयर खनालले बताए ।
धुलिखेल नगरमा १ किलोमिटर ढलको व्यवस्थापनमा बढी समस्या देखिएको छ । खानेपानी र ढलको व्यवस्थापन गर्नुपर्ने देखिएपछि धुलिखेल, बनेपा नगर तथा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई अनुरोध गरी हाल धुलिखेल नगर क्षेत्रभित्रका खानेपानी र ढल व्यवस्थापनको काम गरिरहेको इन्जिनीयर खनालले बताए । धुलिखेलमा खानेपानीको व्यवस्थापनमा १ करोड तथा ढल व्यवस्थापनमा ४ करोड खर्च हुने अनुमान गरिएको छ ।
सडक मापदण्डमा परेका खानेपानीका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भएको छ ।
आयोजना कार्यालयका अनुसार राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड ४ लेनमा विस्तार थालिएको हो । आयोजनाको सुरुआतबाट सूर्यविनायकदेखि धुलिखेलसम्म नै सडक छेउमा पर्खाल निर्माणको काम भइरहेको छ भने विभिन्न स्थानमा हाल कल्भर्ट निर्माणको काम थालिएको छ ।
सडकखण्डको भैंसेपाटीमा संरचना निर्माणार्थ खन्दा पुरातात्विक वस्तु फेला परेपछि पुरातत्व विभागको निर्देशनअनुसार केही भागको काम रोकिएको छ ।
पहिलो चरणमा साँगादेखि धुलिखेल ८ दशमलव ४ किलोमिटर सडकखण्ड विस्तार कार्यका लागि ४ अर्ब ५ करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाखको सम्झौता भएको इन्जिनीयर खनालले बताए । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो ।
चीनसँगको छोटो दूरीको सिन्धुपाल्चोकको तातोपानी नाका केही महिनाअघि खुला भएपछि राजमार्गमा सवारी चाप बढेको छ ।