फुङ्लिङ । ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन् ।
चिराइतोको बजार मूल्य बढेसँगै उनीहरू यसतर्फ आकर्षिक भएका हुन् ।
फक्ताङलुङ गाउँपालिका–६ का केरसी लिम्बू ५ वर्षपछि पुनः चिराइतो खेती गर्न थालेका छन् । उनीसँग चिराइतो खेतीको लामो अनुभव छ ।
विगतका वर्षमा चिराइतो खेती नै मुख्य पेशा बनाएका लिम्बूले कोभिड–१९ को समयमा यसको बजार मूल्यमा ह्रास आएपछि खेती गर्न छोडेर अन्य पेशामा लागेका थिए ।
फक्ताङलुङ गाउँपालिकाभित्र नै धेरै चिराइतो उत्पादन गर्ने लिम्बूले वर्षमा ६५ मन (४० किलो) सम्म चिराइतो उत्पादन गर्थे । लामो समय चिराइतोको बजार मूल्यामा ह्रास आएसँगै बिक्री गर्न समस्या भएपछि अलैंची बगान विस्तार गर्न लागेको उनले बताए । लिम्बूले अहिले १२ रोपनी क्षेत्रफलमा चिराइतो खेती गर्नका लागि तयारी गरिरहेका छन् ।
फक्ताङलुङ–६ लुङथुङका तीर्थ राई अहिले चिराइतो बीउ छर्नमा व्यस्त छन् । उनले खेताला खोजेर ३० रोपनी क्षेत्रफल झाडी फाँडेर चिराइतोका लागि जमिन तयार गरेका राईले बताए । फाँडेको झाडीमा आगो लगाएर चिराइतो छर्नका लागि उपयुक्त जग्गा तयार गरिसकेका छन् ।
‘चिराइतोको बीउ तयार गरेको छु । अब १ हप्तापछि छर्ने योजना बनाउँदैछु,’ राईले भने, ‘१ साल त चिराइतो बिक्री नै भएन । त्यसपछि सबैले खेती गर्न छोडेको थियो तर यस वर्ष गाउँमा नै प्रतिमन ४२ हजारसम्ममा खरिद गर्ने व्यापारी आउनुभए थियो तर चिराइतो नै गाउँमा खासै थिएन ।’
चिराइतोको राम्रो बजार मूल्य आउने सम्भावना देखेर राईले २ वर्षअघि २० रोपनी क्षेत्रफलमा चिराइतो खेती लगाएका छन् । २ वर्षअघि खेती लगाएको आउँदो कात्तिक महिनामा बिक्री गर्न योग्य हुने राईले बताए । गत वर्ष १६ रोपनी क्षेत्रफल जग्गामा राईले चिराइतो खेती गरेका छन् ।
अहिले ३० रोपनी क्षेत्रफल जमिनमा चिराइतो खेती गर्न लागेका हुन् । ३० रोपनी क्षेत्रफलमा जमिनमा २४ माना चिराइतोको बीउ लगाउने राईले बताए । चिराइतो छरेको मितिदेखि २७ महिनामा बिक्रीयोग्य हुने राईले बताए ।
राईले भने, ‘अहिले लगाएको चिराइतो अबको २७ महिनामा ४० देखि ४५ मनसम्म चिराइतो उत्पादन हुने आशा गरेको छु ।’ केही समय किसानले चिराइतो खेती गर्न छोडेपछि अहिले बीउ पाउन समेत मुस्किल पर्ने किसानको भनाइ रहेको छ ।
विगत प्रशस्त मात्रमा पाईने चिरातोको बीउ अहिले प्रतिमाना २ हजार ५०० रुपैयाँमा खरिद बिक्री हुने गरेको किसान भनाइ रहेको छ ।
फक्ताङलुङ गाउँपालिका–५ हेल्लोक गाउँका रविन आङबोहाङले चिराइतो खेती गर्न छोडेको ४ वर्ष भयो तर अहिले चिराइतो खेती गर्नका लागि ८ रोपनी जमिन तयार गरेका छन् । ‘२ सालयता चिराइतोको बजार मूल्य राम्रो आएको छ । गाउँमा अहिले सबैले चिराइतो खेती गर्ने तयारीमा छन् । फेरि बजार मूल्य घट्ने हो कि चिन्ता भइरहेको छ,’ आङबोहाङले भने, ‘अहिले बजार मूल्य राम्रो आएकाले उत्साहित भएर गाउँका प्रायः किसान चिराइतो खेती गर्न लागेका छन् ।’
चिराइतो छर्ने सुरु भएको छ । चिराइतोका लागि वनजंगल तथा झाडी फाँडेर १५–२० दिन राख्नुपर्दछ । त्यसपछि सुकेको झाडीमा आगो लगाउनुपर्दछ । आगो लगाएको ठाउँमा २–४ दिनपछि चिराइतो छर्नुपर्दछ । चिराइतोसँगै अन्य बाली समेत किसानले लगाउने गर्दछन् । मकै, घैया, कागुनी, लटेजस्ता रैथाने बाली लगाउने गर्छन् ।
ताप्लेजुङको हिमाली क्षेत्रमा बसोबास गर्ने किसानहरूले चिराइतो खेती गर्दै आएका छन् । फक्ताङलुङ गाउँपालिका, सिरिजङ्गा, सिदिङवा र मिक्वाखोला गाउँपालिका विशेष चिराइतो उत्पादन हुने क्षेत्रभित्र पर्दछ । केही वर्ष चिराइतो बिक्री हुनै मुस्किल भएपछि खेती गर्न छोडेका किसान अहिले धमाधम चिराइतो खेती गर्न थालेका छन् ।