काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्गलाई २४ घण्टै खुलाउनका लागि आवश्यक सुरक्षा योजनाबारे छलफल भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज सोमबार ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टै खुलाउने तयारीबारे सम्बन्धित निकाय तथा व्यवसायीसँग छलफल गरिएको हो ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टै खुलाउन निर्देशन दिएसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जीतेन्द्र बस्नेतले छलफल सुरु गरेका हुन् । ठमेल र दरबारमार्गलाई २४ घण्टै खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाइएको छ ।
छलफलमा बोल्दै काठमाडौंका सीडीओ बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टै खुलाउने तयारी भइरहेको बताए । ‘सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्छाैं,’ उनले भने ।
उनले व्यापार व्यवसाय सञ्चालनका लागि व्यवसायी र स्थानीयवासी सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिने बताए । व्यवसायीले वस्तु तथा सेवामा दिउँसो र रातिको मूल्य फरक बनाउन नपाउने उनको भनाइ थियो ।
सीडीओ बस्नेतले अहिलेभन्दा आपराधिक क्रियाकलाप बढ्नसक्ने अनुमानका आधारमा सोही अनुसारको सुरक्षा प्रणाली विकास गरिने उल्लेख गरे । व्यवसायीले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् हुने गरी ध्वनि प्रदूषण गर्न नपाउने उनको भनाइ थियो ।
छलफलमा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले लामो समयदेखि ठमेलमा २४ घण्टै व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग परिषद्ले राख्दै आएको बताए । ‘परिषद्ले ठमेललाई कसरी व्यवस्थित र अपराधमुक्त बनाएर सञ्चालन गर्न सकिन्छ भन्नेबारे पटक–पटक सम्बन्धित निकायसँग छलफल गर्दै आएको छ,’ उनले भने ।
दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारीले दरबार मार्गलाई २४ सै घण्टा खुला गर्न हरेक हिसावले उपयुक्त भएको बताए । दरबार मार्गलाई २४ घण्टै खुला गरी ‘नाइट वाक’ क्षेत्र बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।