धुलिखेल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढिरहेको बताएका छन् ।
एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको १०औं अधिवेशनबाट नवनिर्वाचित कमिटीको पदस्थापना कार्यक्रममा बोल्दै उनले स्वच्छ छवि भएर भ्रष्टाचारमुक्त भएर जनताको सेवामा कसरी काम गर्ने भन्ने विषयमा केन्द्रित भएर अगाडि बढेको उनले बताए ।
नेपालको कम्युनिष्ट पार्टी एकताबद्ध हुन आवश्यक रहेको बताउँदै उनले परिस्थिति अनुकूल र सबैमा त्यही ढंगको सोच र विकास हुन आवश्यक रहेको बताए । सोमबार बिहान मात्रै एमाले अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीबाट आफूबीच भेट भएर आपसी सम्बन्धबारे छलफल भएको र त्यसले उपनिर्वाचनको विषय समेतमा छलफल गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा सल्लाह भएको उनले बताए ।
पार्टीका केन्द्रीय उपमहासचिव डा. गंगालाल तुलाधरले जनताको घरघरमा पुगेर पार्टीबारे प्रचार गर्न र पार्टी निर्माणको काममा जुट्न निर्देशन दिए । त्यसका लागि जिल्लाका सबै पालिकामा सन्देश सभाको आयोजना गरेर अगाडि बढ्न निर्देशन दिए ।
पार्टीका बागमती प्रदेश कमिटीका अध्यक्ष सावित्रा भुसालले निर्वाचित पदाधिकारी र सदस्यले आफूले प्राप्त गरेको जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गर्दै पार्टी कमिटी मजबुद बनाउने अभियानमा लाग्न आग्रह गरे ।
पार्टीको १०औं जिल्ला अधिवेशनबाट बसुन्धरा हुमागाईंको अध्यक्षतामा उपाध्यक्षद्वय रघुवर चौप्रधान र पासाङ डोल्मो लामा, सचिवमा गोकुल गौतम र उपसचिवमा हरिगोपाल प्रधानाङ्ग, कृष्णबहादुर तामाङ र भेषराज शाह लगायत भूगोल, खुला, अल्पसंख्यक, दलित र अपाङ्गतातर्फ गरी ५७ सदस्यीय समिति निर्वाचित भएको थियो ।