काठमाडौं । इन्डोनेसियाको पश्चिमी तटमा गत हप्ता करीब १५० व्यक्ति सवार डुङ्गा डुबेपछि कम्तीमा ११ रोहिङ्ग्या शरणार्थीको शव फेला परेको अधिकारीहरूले सोमबार बताएका छन् ।
म्यान्मामा उत्पीडनमा परेका धेरैजसो मुस्लिम समुदायका रोहिङ्ग्याहरू प्रत्येक वर्ष आफ्नो ज्यान जोखिममा राखेर कमजोर डुङ्गामा लामो र महंगो सामुिद्रक यात्रा गरेर मलेसिया वा इन्डिनेसिया पुग्ने प्रयास गर्छन् ।
इन्डोनेसियाली उद्धारकर्मीहरूले ७५ जनाको उद्धार गरिसकेपछि शुक्रबार बाँकी रोहिङ्ग्या शरणार्थीको खोजी कार्य बन्द गरेका थिए । यद्यपि बचेका केही मानिसले केही दिनअघि उनीहरूको डुङ्गा र उद्धार गर्न आएको डुङ्गा पल्टिँदा दर्जनौं मानिस डुबेको बताएका थिए ।
स्थानीय खोज तथा उद्धार अभियानका प्रमुख मुहम्मद फत्तुर रचमनले करीब आधा दर्जन रोहिङ्ग्यालाई समुद्री किनारबाट २६ किलोमिटर टाढा समुद्रमा मृत फेला पारेको बताए । ‘अहिले थप ६ जनाको शव निकाल्ने काम भइरहेको छ,’ उनले सोमबार भने, ‘ती सबै महिला थिए, हामीले एक माझीबाट शवहरूबारे सुनेका थियौं, शवहरूलाई अस्पताल लगिने छ ।’
यसअघि संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी (यूएनएचसीआर) का अधिकारीहरूले हालैका दिनहरूमा ५ जनाको शव फेला परेको बताएका थिए ।
डुङ्गा पल्टिनुअघि हप्तादिनसम्म समुद्रमा अलपत्र परेकाहरूको अधिकारीहरूले बिहीबार नाटकीय उद्धार गरेका थिए । तीमध्ये धेरैजसो पल्टिएको डुङ्गामा टाँसिएको भेटिएका थिए । अन्य ६ जनाको बुधबार माझीहरूले उद्धार गरेका हुन् ।
यूएनएचसीआरका अनुसार नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म १ हजार ७५२ रोहिङ्ग्या शरणार्थी इन्डोनेसियाको आचे र उत्तरी सुमात्रा प्रान्तमा प्रवेश गरेका थिए । तीमध्ये धेरै महिला र बालबालिका थिए ।
संयुक्त राष्ट्रसंघले सन् २०१५ यता मुस्लिम बाहुल्य देशमा बंगलादेशको बिगँ्रदो स्थिति र रोहिङ्ग्याको जन्मभूमि म्यान्मामा हिंसाको निरन्तर खतराका कारण यो सबैभन्दा ठूलो आगमन भएको बताएको छ ।