बेनी । म्याग्दीमा सोमबार साँझ परेको भीषण असिना पानीले हिउँदे बालीलाई क्षति पुर्याएको छ ।
लामो खडेरीपछि परेको असिना पानीले जिल्लाको रघुगंगा गाउँपालिका र बेनीनगरपालिका क्षेत्रका हिउँदे खेतीबालीमा क्षति पुर्याएको हो ।
रघुगंगामा दिउँसो करीब २ बजेदेखि सुरु भएको असिना करीब ३ घण्टासम्म परेको थियो भने बेनी नगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि असिना परेको थियो ।
असिनाले खेतबारीमा भित्र्याउने अवस्थामा पुगेको गहुँ, जौ, केराउ लगायतका खाद्यबाली सबै नष्ट गरेको छ । त्यसैगरी खेतमा भर्खर उम्रिएका मकै बाली समेत अनिसाले पूर्ण रूपमा क्षतविक्षत बनाएको कृषकले बताएका छन् ।
असिनाले सुन्तला, कागती लगायतका फलफूलमा लागेको फूल झारेको छ ।
रघुगंगा गाउँपालिकाको पिप्ले, भगवती, कलेजाबाङ, मौवाफाँट, बेग, दग्नाम, झिँ, पाखापानी, बेनी नगरपालिकाको पात्लेखेत, घतान, पुलौचार, अर्थुङ्गे, बगरफाँट, बेनीबजार लगायतका स्थानमा भारी असिना पानी भएको थियो ।
असिनाले गौ, जौ, तोरी लगायतका खाद्यबालीसँगै तरकारी खेतीमा ठूलो क्षति पुर्याएको बेनी नगरपालिका–९ तोरीपानीका कृषक भद्रबहादुर बानियाँले जानकारी दिए । ‘हिउँदभर सिँचाइ गर्न पानी आएन, अहिले एकैपटक अनिसा पानी खस्यो, भित्र्याउने तयारी गरेको हिउँदेबाली सबै पूर्ण रूपमा नष्ट गरेको छ,’ कृषक बानियाँले भने ।
असिना पानीले हिउँदेबालीमा क्षति पुर्याएपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले क्षतिको विवरण संकलन गर्ने काम सुरु गरेको जनाएका छन् । अनिसा पानीले पुर्याएको क्षतिको वडास्तरबाट विवरण संकलन गर्न थालिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।