काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोच–विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको बागमती प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर नयाँ गठबन्धन बनाइएको स्पष्ट पारे ।
उनले हालको सत्ता गठबन्धनलाई लामो समयसम्म लैजाने सोच र लक्ष्यका साथ पार्टीले निर्णय गरेकाले त्यसलाई अक्षरशः लागू गरिने स्पष्ट पारे ।
गठबन्धन परिवर्तन गर्ने निर्णय एकाएक नभएको उल्लेख गर्दै उनले वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखिएको बताए । पछिल्लो १ वर्षको अनुभवका आधारमा नयाँ निर्णय लिनु नै सुरक्षित उपाय भएको प्रधानमन्त्रीको भनाइ रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डीपी ढकालले जानकारी दिए ।
प्रदेश सरकारको विषयमा केही समयभित्रै आवश्यक निर्णय लिइने उनको भनाइ छ । संघीय सरकारमा परिवर्तन भएलगत्तै प्रदेश सरकारको बारेमा पनि निर्णय लिनुपर्ने अवस्था आएको भन्दै उनले गठबन्धनमा आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिइने बताए ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकामा कमजोर रहेको पार्टीलाई नयाँपन दिएर अगाडि बढाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उपत्यकाको आवश्यकता र चाहनालाई ख्याल गरेर जनतासँग जोडिन, संगठन सुदृढ गर्न रचनात्मक उपाय अवलम्बन गर्नुपर्नेमा उनको जोड थियो ।
सरकारले गरेका जनपक्षीय काम कारवाहीबारे जनतालाई बुझाउन समेत प्रधानमन्त्रीले आग्रह गरेका छन् ।
बैठकमा बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटा, अध्यक्ष सरल सहयात्री पौडेल लगायतको उपस्थिति थियो ।