‘हाम्रो सपना मर्नु सबैभन्दा खतरनाक हुन्छ’ भारतीय कवि पाशको कविताको यो अंश भवानी दहालको जीवनको पानाहरू पल्टाउँदै गर्दा याद आइरहन्छ । १८ वर्षको किशोरी अवस्थामै आँखाभरि सपना बोकेर त्यसलाई साकार पार्न हिँडेकी थिइन् उनी । उनका खुट्टामा समय र स्वास्थ्यले बारम्बार नेल लगाउन खोजे उनी त्यसलाई तोडेर अघि बढिरहिन् ।
सप्तरी, राजविराजबाट स्वास्थ्य क्षेत्रको जागिरेको रूपमा पहिलो पाइला राखेकी भवानीले सन्तोषजनक सास भने फेर्न पाइनन् । पाइनन्भन्दा पनि दिइएन भनौं । तत्कालीन सगरमाथा अञ्चल अस्पताल विकास समितिमा उनले पाएको स्वास्थ्य सहायकको पद अरूको आँखामा तारो बन्यो । विभिन्न असन्तुष्टिले दिएको छटपटीको उपचार सायद उनको मनले खोजिरहेको थियो । त्यसैले ५ रुपैयाँ शुल्क तिरेर उनी निजामती कर्मचारी संगठनको सदस्य बनिन् । जतिबेला निजामती कर्मचारीहरूको एउटैमात्र संगठन थियो ।
कथा त्यतिमै रोकिएन । विसं ०४७/०४८ सालमा भएकाे कर्मचारी आन्दोलनमा भवानी पनि सहभागी हुन थालिन् । बेलुकाको ड्युटी गरेर उनी दिउँसो आन्दोलनमा सहभागी हुन जान्थिन् । आन्दोलनमा हिँडे पनि उनले आफ्नो काम भने इमान्दारीपूर्वक निर्वाह गरिरहेकी थिइन् ।
२०५२ सालमा भवानीले स्थायी नियुक्ति लिँदा ६ महिना परीक्षणकालको रूपमा राख्ने प्रचलन थियो । विद्रोही स्वभावकी भवानीले परीक्षणकालभित्रै पुनः निजामती कर्मचारी संगठनको सदस्यता लिएर कर्मचारी संगठनको यात्रा प्रारम्भ गरिन् ।
त्यतिबेलाको समयमा एउटी किशोरी आन्दोलनमा होमिनु र आवाज उठाउनु सानो कुरा थिएन । राजविराजको गर्मीमा आन्दोलनको राप थप्ने उनी एक्ली महिला कर्मचारी थिइन् । साम, दाम, दण्ड, भेद प्रयोग गरेर आन्दोलन तुहाउने प्रयास समेत भए । सिडिओ कार्यालय, अञ्चलाधीश कार्यालयबाट मान्छे आएर उनलाई विभिन्न प्रलोभन देखाए तर उनी पछि हटिनन् ।
केही गर्दा पनि भवानी पछि नहट्ने र काममा पनि खोट लगाउने ठाउँ नदेखेपछि समिति नै खारेज गरियो । उनीसमेत केही साथीहरूलाई समितिबाट बिदा गरेपछि पुनः अर्को समिति गठन गरी नयाँ कर्मचारी राखियो । कुनै कविताको मार्मिक अनुच्छेद झैं उनी भन्छिन् ‘दसैँको बेलामा उनीहरूले मेरो जागिर खाइदिए ।’
त्यतिबेला भवानीले मुखियासरह ८१० रुपैयाँ पारिश्रमिक पाउँथिन् । पहिलो पारिश्रमिक बुझ्न जाँदा १० रुपैयाँ कम बोक्न पाएको उनी सम्झिन्छिन् । ५ रुपैयाँ सदस्यता र ५ रुपैयाँ सहयोगवापत दिएपछि उनको हातमा ८०० रुपैयाँ आइपुगेको थियो ।
केही समय विभिन्न रोगले गाँजेपनि भवानीले ०४९ सालमा सिएमएको पढाइ सुरु गरिन् । भीरमा उक्लिँदा एउटा त्यान्द्रो पनि सहारा बन्न सक्छ भने झैं उनको जीवनसाथीको सल्लाह हौसलाको माध्यम बन्यो ।
१५ वर्षको उमेरमा ओखलढुंगाका उद्धव दाहालसँग भवानीको मागी विवाह भएको थियो । भवानीका श्रीमानले आफूजस्तै अरू पनि बिरामी देख्छिन् र बुझ्छिन् भनेर उनलाई स्वास्थ्यसँग सम्बन्धित विषय पढाउन प्रेरित गरे ।
०५२ साल साउन ३१ गते भवानीले धनकुटाबाट लोकसेवा पास गरी राजपत्र अङ्कित द्वितीय श्रेणीको प्राविधिक अहेव पदबाट जागिर सुरु गरिन् । उनको जागिर पहिले निजामती सेवा ऐनअनुसार नै भए पनि २०५४ जेठ १४ गतेको निर्णयअनुसार स्वास्थ्यलाई निजामती सेवाबाट अलग बनाइयो ।
२०५२ सालमा भवानीले नियुक्ति लिँदा ६ महिना परीक्षणकालको रूपमा राख्ने प्रचलन थियो । विद्रोही स्वभावकी भवानीले परीक्षणकालभित्रै पुनः नेपाल निजामती कर्मचारी संगठनको सदस्यता लिएर कर्मचारी संगठनको यात्रा प्रारम्भ गरिन् ।
समाजमा हुने हिंसा, अन्यायको समाधानका लागि भवानीले केही महिला तथा पुरुष समेटेर माँ भगवती युवा क्लबसमेत गठन गरिन् । र, देउसीभैलो कार्यक्रममार्फत् महिलाहरूलाई घरबाट बाहिर निकालेर रात परेपछिको बाहिरको संसार देखाइन् । महिलाहरूलाई विभिन्न कार्यक्रममा सहभागी गराएर उनले महिला सशक्तीकरणको लागि काम गरिरहिन् ।
सप्तरी जिल्लामा संगठनको जिम्मेवारीलाई निरन्तरता दिँदै उनी जिल्ला कार्यसमितिको सदस्य र सगरमाथा अञ्चल समन्वय कमिटीको सदस्य भएर क्रियाशील रहिन् ।
छैटौं महाधिवेशनपश्चात् आह्वान गरिएको राष्ट्रिय महिला भेलामा भवानी सप्तरी जिल्लाबाट महिला प्रतिनिधिको रूपमा सहभागी हुन गएकी थिइन् । यद्यपि उनी पुग्दा नपुग्दै राजाले कु गरेका कारण भेला हुन सकेन ।
२०२८ सालमा सिराहा जिल्लाको बन्दिपुरमा जन्मिएकी भवानी ३० सालमा अभिभावकसँगै सप्तरी पुगेकी हुन् । सप्तरीमै हुर्किएर त्यहीँ जागिरसमेत खाएकी उनलाई फोकल एपिलेप्सी नामक रोगले हात नचल्ने बनाएको थियो । पाटन अस्पतालले हात काट्नुपर्ने सम्भावना रहेको बताए तापनि वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको उपचार र करिब ८ वर्ष औषधी सेवन गरेपछि ठिक भएको उनी सम्झिन्छिन् ।
सप्तरीका ११३ वटा तत्कालीन गाविस र नगरपालिकामा भएको उपस्वास्थ्य चौकीमध्ये एउटा उपस्वास्थ्य चौकीमा भवानी इन्चार्ज भएर काम गरिरहेकी थिइन् । सोहीक्रममा स्वास्थ्य चौकीका उनकै मातहतका कर्मचारीले कांग्रेससँग आबद्ध राष्ट्रिय स्वास्थ्यकर्मी संघ ट्रेड युनियनको रसिद काट्न अनुरोध गरे ।
तर भवानीले भने काट्न मानिनन् । उक्त रसिद नकाटेकै आधारमा उनलाई प्युठान सरुवा गरियो । जतिबेला उनीमाथि दुई बच्चा र ८४ वर्षकी सासूको जिम्मेवारी पनि थियो । उनका श्रीमान् पनि ओखलढुंगामा कार्यरत थिए । त्यति नै बेला उनले राष्ट्रिय खोप अभियानमा राम्रो काम गरेवापत प्रशंसापत्रसमेत पाएकी थिइन् । तर यी कुराहरूको ख्यालसमेत नगरी उनको टाढा सरुवा गरियो ।
घरको जिम्मेवारी सम्हाल्नै पर्ने भवानीको बाध्यता थियो । त्यसैले उनी प्युठान जान सकिनन् । धेरै ठाउँमा हारगुहार गरेर केही समय नजिकै रहेको प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनपुरमा काजमा बसिन् । घरबाट २ घण्टाको दुरीमा रहेको ठाउँमा रिक्त भएको मौकामा उनले सरुवा गराइन् । करिब १.५ वर्ष उनले त्यो संघर्षपूर्ण जागिर खाएकी थिइन् । केही समयपछि उनी आफूले छोडेकै स्थानमा सरुवा मिलाएर फर्किइन् ।
सरकारी जागिरे हुँदाहुँदै पनि समाजमा अन्याय, अत्याचारमा परेका महिलाहरूको पक्षमा भवानी निरन्तर आवाज उठाउँथिन् । स्वास्थ्यकर्मी भएकाले धेरैजसो उनले भनेपछि समाजका मान्छेहरू मान्ने पनि गर्थे ।
समाजमा हुने हिंसा, अन्यायको समाधानका लागि भवानीले केही महिला तथा पुरुष समेटेर माँ भगवती युवा क्लबसमेत गठन गरिन् । र, देउसीभैलो कार्यक्रममार्फत् महिलाहरूलाई घरबाट बाहिर निकालेर रात पर्दा पनि स्वतन्त्र हिँडडुल गर्ने वातावरण सिर्जना गरिन् । महिलाहरूलाई विभिन्न कार्यक्रममा सहभागी गराएर उनले महिला सशक्तीकरणको लागि काम गरिरहिन् ।
सामाजिक सेवाका लागि सधैं अग्रसर रहने भवानीले दम्पतिबीचको झै-झगडा समेत समाधान गर्ने गर्थिन् । समाजका मानिसहरू अनेकन समस्या लिएर उनीसामु पुग्ने गर्थे ।
त्यतिबेला समाजमा स्वास्थ्यकर्मीहरूलाई होम सुत्केरीका लागि लिन जाने चलन थियो । जसको लागि केही शुल्क पनि दिइन्थ्यो तर उनले कसैसँग शुल्क मागिनन् । बरु कतिपय घरमा सुत्केरी गराएर आफूले सकेको जति दाल-चामल दिएर पठाउने गर्थिन् ।
२०६३ सालमा नेपाल निजामती कर्मचारी संगठन, सप्तरीले भवानीलाई स्वास्थ्य कर्मचारीको आन्दोलनमा सहभागी हुन पठाएको थियो । उनी काठमाडौंमा बसेर आन्दोलनमा सहभागिता जनाइन् । सोही समयमा तत्कालीन उपप्रधानमन्त्री तथा स्वास्थयमन्त्री अमिक शेरचनले आफ्नो पार्टी संगठनमा बस्न, सचिवालयमा बस्न आग्रह गरेका थिए । जसलाई उनले आफ्नो आस्था विचार फरक भएको बताउँदै अस्वीकार गरिन् ।
आन्दोलनमा लागेका अन्य साथीले उनको भूमिका महत्त्वपूर्ण ठानेर काठमाडौं आउन आग्रह गरे । उनका दुई सन्तान काठमाडौंमा आफ्ना मामासँग बसेर पढिरहेका थिए । त्यसैले भक्तपुरको एक जना साथीसँग पारस्परिक सरुवा गरी उनी उपत्यका प्रवेश गरिन् । ०६४ सालमा ठिमी हेल्थ पोस्टमा आउनासाथ उनी नेपाल निजामती कर्मचारी संगठन भक्तपुर जिल्ला कार्य समितिमा आबद्ध भई भक्तपुर जिल्लाबाटै सदस्य, कोषाध्यक्ष हुँदै केन्द्रीय प्रतिनिधिसम्म बनिन् । त्यही संगठनको यात्राले आफूलाई केन्द्रसम्म पुर्याएको उनी बताउँछिन् ।
संगठनको सातौं अधिवेशनमा उपत्यकाबाट भवानी सदस्यमा निर्वाचित भइन् । व्यस्तताका बाबजुत पनि उनी चलिरहेको स्वास्थ्य र निजामतीको आन्दोलनमा सहभागी हुन पुग्थिन् ।
संगठनको केन्द्रबाट गृह मन्त्रालय, कृषि मन्त्रालय, भक्तपुर, काभ्रे, लोकसेवा आयोग जस्ता ठाउँको इन्चार्ज हुने मौका समेत भवानीले पाइन् । धेरै ठाउँमा संलग्न भएकाले उनको दिनचर्या निकै व्यस्त बन्यो । त्यही व्यस्तताले उनलाई परिचित हुने मौकासमेत दियो ।
संगठनबाटै भवानी देशको प्रतिनिधित्व गरेर अल इन्डिया गभर्नमेन्ट एम्प्लवयर अर्गनाइजेशनको कन्फ्रेन्समा र टि.यु.आई.पि.यसको एशिया पेशिफिक बैठकमा भाग लिने मौका पाइन् ।
संगठनको ८ औं अधिवेशनमा पुनः सर्वसम्मत रूपमा नेपाल निजामती कर्मचारी संगठन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्चार्ज बनिन् र त्यस अबधिमा उक्त संगठनले उत्कृष्ट ईन्चार्जको रुपमा सम्मान पत्र पनि प्रदान गर्यो । सम्भवत: यस्तो सम्मान पत्र पाउने संगठनमा उनी पहिलो भएको उनको अनुभव छ ।
सरकारले दुई वर्ष अघि पुरस्कृत गरेको सम्झँदै उनी भन्छिन् 'सरकारले दुई बर्षअघि नेपालको पहिलो महिला राष्ट्रपति बिधादेवि भण्डारीबाट ,प्रवल जन सेवा श्री चतुर्थबाट बिभुषित गरे पश्चात आफूमा अझ सेवा गर्ने उर्जा जागृत भएको महसुस भएको छ । म तत्कालिन सरकारप्रति आभार व्यक्त गर्दछु ।'
९ औं अधिवेशनमा भवानीले सचिव पदको लागि प्रतिस्पर्धा गरिन् र चुनाव जितिन् । त्यसपछि भवानीले प्रशिक्षण विभागको जिम्मेवारी लिएर मुलुकका ४३ वटा जिल्ला घुम्ने अवसर पाइन् । आइएलओको सेन्ट्रल अफिसबाट तालिम लिएर महासंघको तर्फबाट केही दुर्गम क्षेत्रमा प्रशिक्षण चलाउने अवसर समेत उनलाई प्राप्त भयो ।
९ औं अधिवेशनको कार्यकालको अन्तिमतिर आधिकारिक निर्वाचन भयो । त्यहाँ प्रतिनिधित्व गराउन पठाएपछि संगठन केन्द्रिय कार्यसमितिमा भएको रिक्त भएको उपाध्यक्ष(महिला)को जिम्मेवारी ग्रहण गरिन् । जहाँ भवानीले देशभरिका महिलासँग जोडिने मौका पाइन् । १० औं अधिवेशनबाट उनी संगठनको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भइन् ।
पछिल्लो केही वर्ष देखिएका राजनीतिक उतारचढावको प्रभाव निजामती कर्मचारी संगठनमा पनि पर्यो । जसका कारण ३ वर्षका लागि म्यान्डेट दिएर पठाएको संगठनको कार्य समिति करिब छ वर्ष चल्यो ।
११ औं अधिवेशनबाट खुला उपाध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख बनेकी भवानी संगठनमा खुला उपाध्यक्ष हुने पहिलो महिलासमेत हुन् । उनलाई अध्यक्षको लागि समेत प्रस्ताव आएको थियो तर केही समयअघि गरिएको भद्र सहमतिका आधारमा लेखनाथ कोईरालालाई उनले समर्थन गरिन् ।
बालखबाटै साहित्यमा रुचि भएकी भवानीले साथीको प्रेरणा पाएर एउटा कविता र गजल संग्रहको पुस्तकसमेत निकालेकी छिन् । अहिले पुन: उनले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाएकी छिन् । साथै १३ जना महिलाको नेतृत्वमा बाटुली लामिछानेको नाममा एउटा फाउन्डेसन गठन गरेकी छिन् । ज्येष्ठ नागरिक तथा महिलाहरूको क्षेत्रमा काम गर्न सहज होस् भनेर फाउन्डेसन गठन गरिएको हो ।
भवानीको नेतृत्वमा नेपालकी सर्वाधिक ज्येष्ठ नागरिक बाटुली (हाल १२० वर्ष)को नाममा खोलिएको फाउन्डेसनले नुवाकोटको ककनी वडा नं ८ की बाटुली लामिछानेलाई मात्र नभएर अन्य वृद्धवृद्धालाई समेत सहयोग गर्दै आएको छ । तत्कालीन बागमती प्रदेश माननिय बद्री मैनाली र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग संकलन गरी उनको घर बनाउन सहयोग गरिएको छ । जसमा समाजसेवी देवकी धितालबाट आधा रोपनी जग्गा प्राप्त भएको थियो
भवानी कपन बहुमुखी क्याम्पसको व्यवस्थापन समितिमा रहेर समेत काम गरिरहेकी छन् । आध्यात्मिक चिन्तनसँगै कर्ममा विश्वास गर्ने उनी अरूलाई सहयोग गर्न पाउँदा खुसी हुन्छिन् ।
०४७ सालमा आमा बनेकी भवानीका छोरा र छोरी दुवैको विवाह भइसकेको छ । जागिरसँगै परिवार, बालबच्चाको जिम्मेवारी सम्हालेर संगठनको काममा समेत सक्रिय भवानी महिलाको जीवनमा धेरै चुनौतीहरू हुने बताउँछिन् । पुरुषभन्दा पनि बढी योग्य महिला भए पनि पुरुषलाई नै प्राथमिकता दिने प्रवृत्ति अझै रहेको उनकाे बुझाइ छ । श्रमिक महिलाहरूलाई समाज तथा राज्यले हेर्ने र गर्ने व्यवहार भेदभावपूर्ण रहेको उनी बताउँछिन् ।
महिला कर्मचारीमा देखिने मनोसामाजिक समस्याहरूका लागि ठाउँ-ठाउँमा मनोसामाजिक परामर्श केन्द्र'को व्यवस्था गरिनुपर्ने भवानीकाे माग छ । साथै पेशागत क्षेत्रमा रहेका महिला लक्षित सरकारले 'मनोसामाजिक परामर्श केन्द्र'को स्थापना गर्नुपर्ने माग गर्दै निजामती सेवा ऐन आउन ढिलाई भएका कारण जन सेवा प्रवाहमा बिभिन्न कठिनाई आएको उनले बताएकी छन् ।
जीवनयात्राको क्रममा आफूले कमाएको सम्पत्ति भनेको देश तथा संगठनमा भएका साथीहरू नै हुन् भन्ने भवानीलाई लाग्छ । संगठन र जागिरको सक्रियताका कारण परिवारलाई समय दिन नसकेको कुरा भने सधैं खड्किरहने उनी बताउँछिन् ।
अझै पनि कर्मचारी क्षेत्रमा धेरै समस्या रहेको भन्दै निजामती सेवा ऐन ल्याए धेरै कामहरू सहजीकरण गर्न सकिने भवानी बताउँछिन् । निजामती सेवामा प्रवेश गरेको व्यक्तिको निजामती शब्द हट्नु नहुने र उनीहरूको वृत्ति विकास रोकिन नहुने विषय अहिले पनि उनले उठाउँदै आएकी छन् ।