काठमाडौं । उत्तरपश्चिम पाकिस्तानमा एक आत्मघाती आक्रमणकारीले आफ्नो गाडीलाई निशाना बनाउँदा आज एउटा प्रमुख बाँध निर्माणस्थलमा कम गरिरहेका पाँच चिनियाँ नागरिक र एक चालकको मृत्यु भएको छ ।
पाकिस्तान बेइजिङको सबैभन्दा नजिकको क्षेत्रीय सहयोगी हो तर पाकिस्तानमा चिनियाँ श्रमिकहरूको सुरक्षा लामो समयदेखि चिन्ताको विषय बनेको छ ।
“आक्रमणमा पाँच चिनियाँ र उनीहरूको स्थानीय चालक मारिएका छन्”, खबैर पख्तुनख्वा प्रान्तका वरिष्ठ प्रहरी अधिकारी मुहम्मद अली गन्डापुरले भने । उनका अनुसार चाइना गेजुवा ग्रुप कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत् बाँधस्थलबाट उक्त सवारी राजधानी इस्लामाबाद जाँदै गर्दा बेशम सहर नजिकै बम विस्फोट भएको थियो ।
सन् २०२१ मा सोही निर्माण स्थलमा इन्जिनियरहरूलाई लैजाँदै गरेको बस बम आक्रमणमा परेको थियो । सो आक्रमणमा नौ चिनियाँ श्रमिकसहित १३ जनाको मृत्यु भएको थियो । चिनियाँ लगानीको आधारशिला मानिएको दक्षिण पश्चिम पाकिस्तानमा ग्वादर बन्दरगाहको कार्यालयमा आक्रमण गर्ने प्रयासमा सुरक्षा बलले कम्तीमा सात आतङ्कवादीलाई मारेको केही दिनपछि आज आक्रमण भएको हो ।
बेइजिङले हालका वर्षहरूमा पूर्वाधारहरूलाई बढावा दिन पाकिस्तानमा अर्बौं डलर लगानी गरेको छ । यसमा उसको ‘बेल्ट एन्ड रोड’ पहल पनि सामेल छ । सो पहलअन्तर्गत चीनले विश्वभरमा २० खर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको छ ।
यद्यपि चिनियाँ अनुदानमा सञ्चालित परियोजनाहरूले विशेषरूपमा पृथकतावादी समूहरूबीच असन्तोष सिर्जना गरेको छ । उनीहरूले यस्तो लगानीले स्थानीय बासिन्दालाई अत्यन्तै कम लाभ हासिल हुने र अधिकांश नोकरी बाहिरी मानिसले पाउने बताएका छन् ।
सन् २०१९ मा अरब सागरसम्म रणनीतक पहुँच प्रदान गर्ने ग्वादरस्थित प्रमुख चिनियाँ समर्थित गहिरो पानीको बन्दरगाह नजिकैको बलुचिस्तान प्रान्तमा एउटा लक्जरी होटलमा बन्दुकधारीहरूले हमला गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको थियो । साथै सन् २०२० जुनमा बलुच विद्रोहीहरूले कराँचीको व्यापारिक राजधानी कराँचीमा आंशिकरूपमा चिनियाँ कम्पनीहरूको स्वामित्व रहेको पाकिस्तान स्टक एक्सचेन्जलाई निशाना बनाएका थिए ।