काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र मेयरसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनियमितता गरेको भन्दै सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल र नगर प्रमुख गंगा पासमानसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनियमितता गरेको अख्तियारको दाबी छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पासमानसहित नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मण्डलले सार्वजनिक निकायले निर्माणस्थलको व्यवस्था नभइ बोलपत्र आव्हान गर्न नहुने प्रावधान विपरीत स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउन बोलपत्र आव्हानका लागि निर्णयगरी एक करोड आठ लाख रुपियाँ सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप लागेको छ ।
यस्तै, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविनकुमार महतोले उच्च अदालत जनकपुर, राजविराजबाट भएको आदेशको परिपालना नगरी प्रशासनिक भवन बनाउन सम्झौता गर्ने निर्णय गरेको र सोही सम्झौताको आधारमा म्याद समाप्त भइसक्दा पनि पेश्की रकम भुक्तन दिएको आरोप लागेको छ ।
यसैगरी, निर्माण व्यवसायी महालक्ष्मी–पाण्डे एण्ड कम्पनी–ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवले पेश्की भुक्तानी लिइ निर्माण कार्य सुरु नगरेको र एड्भान्स पेमेन्ट ग्यारेण्टीको म्याद समाप्त भइसक्दा पनि म्याद थप नगरी भ्रष्टाचार गरेको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुस् अख्तियारको आरोपपत्र