काठमाडौं । सरकारले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा डा. हरिप्रसाद लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बिहीबार बसेको बैठकले बढुवाको निर्णय गरेको हो ।
बैठकले चैते धानको समर्थन मूल्य तोकेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ७०७ रुपैयाँ २८ पैसा न्यूनतम समर्थन मूल्य तोकेको हो ।
१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम् समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ ।
बैठकले आव २०८१/८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजस्व ७ प्रदेशको लागि ७७ अर्ब ५० करोड र स्थानीय तहका लागि ७७ अर्ब ५० करोड रुपैयाँ स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले वित्तीय समानीकरण अनुदानको परिमाण ७ प्रदेशका लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब स्वीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले आव २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ ।
नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने बैठकको निर्णय छ ।