रामपुर । प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।
जिल्लाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाकी पदमा सुनारको बीभत्स हत्या गरेको अभियोगमा छिमेकी सागर भनिने देवलाल सार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
सुनारको गत मंगलबार दिउँसो १२ बजे धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । प्रारम्भिक अनुसन्धानमा हत्यामा संलग्न देखिएकाले लप्सीखोलाका १९ वर्षीय सार्कीलाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुुगन्ध श्रेष्ठले जानकारी दिए ।
घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएका सामग्री बरामद गरेको छ । प्रतिवादीले हत्या गर्दा प्रयोग गरेको धारिलो हतियार (हसिया) १ थान, हत्या गर्दा लगाएको लुुगा कालो जिन्स पाइन्ट र रातो टिसर्ट १–१ थान, रातो रंगको खादा, कालो रंगको चप्पल १ जोर, मृतकको मोबाइल १ थान र रगतजस्तो रातो पदार्थ लागेको मोबाइलको टेम्पर ग्लास १ थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
सुनार गत मंगलबार घरबाट अन्दाजी २ किलोमिटर टाढाको लप्सीखोलामा कपडा धुन र नुहाउन गएकी थिइन् । उनी दिउँसो साढे ३ बजेसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा ४ बजेको समयमा रिब्दिकोट–१ खुलखुले गैरास्थित लप्सीखोलाबाट कराम्दीतर्फ जाने गोरेटोमा उनले धुुन लगेका कपडा लथालिङ्ग अवस्थामा भेटिएको थियो ।
सो स्थानबाट अन्दाजी २० मिटर तलपट्टि खरबारीमा सुनारको टाउको, घाँटी, हातमा घाउचोट सहित रगताम्य अवस्थामा मृत फेला परेकी थिइन् । घटना थाहा हुने बित्तिकै प्रहरी चौकी सर्देवा, हार्थोक, अर्गली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक सहितको टोली घटनास्थल पुगेर हत्याको अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा धारामा मृतक सुनारले लुुगा धोएर डोकोमा हाल्न बेला सामान्य विवाद भएको र लुुगा बोकेर घरतर्फ फर्किंदै गर्दा पछाडिबाट अभियुक्त सार्कीले हँसिया प्रहार गरेको खुल्न आएको छ ।
मृतकको बायाँ पाखुरा, टाउको र पछाडि खप्परमा प्रहार गर्दा मृतक सुनार बाटोबाट अन्दाजी २० मिटर तल खरबारीमा घस्रिँदै गई घोप्टो अवस्थामा पुुगेको प्रहरीले जनाएको छ । मृतकको टाउकोमा २–३ पटक प्रहार गरी मोबाइल समेत लिएर गएको अभियुक्तले प्रहरीलाई बताएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
मृतक सुनारको शव परीक्षणका लागि रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।