काठमाडौं । लोकेश बमले उत्कृष्ट ब्याटिङ गरे तापनि नेपाल ‘ए’ टोली आयरल्याण्ड ‘ए’ टोलीसँग २१ रनले पराजित भएको छ ।
आयरल्याण्डले दिएको २२३ रनको चुनौती नेपाल १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रनमा समेटियो । नेपालका लागि लोकेश बमले शतक प्रहार गरे ।
उनले ५६ बल खेल्दै ९ चौका र ८ छक्काको मद्दतमा सर्वाधिक १०६ रनको योगदान दिएका हुन् ।
त्यसैगरी आशिफ शेखले २६ बलमा १ चौका र ५ छक्काको सहयोगमा ४९ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
कप्तान विनोद भण्डारीले १४ बलमा २ चौका र १ छक्काको मद्दतमा १६ रन जोडे । बसिर अहमद ३ रनमा आउट भए ।
बलिङतर्फ आयरल्याण्डका फिआन ह्यान्ड र म्याथ्यु हम्फ्रिजले समान ३–३ विकेट लिए भने म्याथु फोस्टरले २ विकेट लिए । थोमस मेस र ग्याभिन होएले समान १–१ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टी–२० शृंखला अन्तर्गतको पहिलोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रनको योगफल बनाएको थियो ।
आयरल्याण्डका लागि पिटर मोरले ३२ बलमा ४ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ४९ रनको योगदान गरे । कप्तान नील रक र काडे कारमाइकलले समान ३८–३८ रन बनाए । स्टेफन डोहिनीले ३४, गारेथ डेलानीले अविजित ३० तथा गाभिन होयले अविजित १८ रन बनाए ।
नेपाल ‘ए’का लागि कमलसिंह ऐरीले ३ विकेट लिए भने सागर ढकाल र आरिफ शेखले समान १ विकेट लिए । शनिबार आयरल्याण्ड ‘ए’ टोली र नेपालको ‘ए’ टोलीबीच दोस्रो खेल हुनेछ ।