काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा चढेको कारलाई विपरीत दिशाबाट आएको कारले ठक्कर दिएको छ ।
दुर्घटनामा उनी र उनका सहयोगीहरू चोट लाग्नबाट बचेका छन् ।
निर्वाचन अधिकारीहरूले जुमालाई मे २९ को आमचुनावमा उम्मेदवार हुन अयोग्य घोषणा गरेको केही घण्टापछि यो घटना भएको थियो ।
दक्षिण अफ्रिकी प्रहरी सेवा (एसएपीएस) का अनुसार पूर्व राष्ट्रपति जुमाको कारको विपरीत दिशाबाट आएको कारका चालकले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएको बताइएको छ ।
क्वाजुलु नाटाल प्रान्तमा ५१ वर्षीय ती व्यक्तिलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको र लापरबाहीपूर्वक सवारी चलाएको आरोपमा पक्राउ गरिएको एसएपीएसले जनाएको छ ।
भाग्यबस, जुमा र उनका अंगरक्षकहरूलाई दुर्घटनामा कुनै चोट नलागेको र घटनापछि ८१ वर्षीय जुमालाई उनको निवासस्थानमा लगिएको छ ।
सत्तारुढ अफ्रिकन नेसनल कंग्रेस (एएनसी) का पूर्व वरिष्ठ नेता जुमालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपका कारण पदबाट हटाइएको थियो ।
गत डिसेम्बरमा उनले आफ्नो राजनीतिक निरन्तरतालाई क्यारियरलाई पुनः सुरु गर्ने प्रयासमा विपक्षी युएमखोन्तो वी सिज्वे (एमके) पार्टीका लागि प्रचार गर्ने घोषणा गरेका थिए ।
बुधबार एएनसीले एमकेलाई अयोग्य घोषित गर्ने प्रारम्भिक भनाइपछि एमकेविरुद्ध नयाँ अदालती प्रक्रिया सुरु गरेको थियो ।
एएनसीका अनुसार एमकेको नाम र लोगो नेल्सन मण्डेलाको नेतृत्वमा रहेको एएनसीको रंगभेदकालको सैन्य शाखासँग मिल्दोजुल्दो छ र यसले मतदातालाई धोका दिन वा भ्रमित पार्न सक्छ ।
एमकेका प्रवक्ता नल्हामुलो नधलेलाले कार दुर्घटना संयोग नभएको दाबी गरेका छन् । उनले भने, ‘पूर्व राष्ट्रपतिको सुरक्षा इकाइको जिम्मेवारी सम्हालिरहेका मन्त्रीले ८ वर्षदेखि आफ्नो गाडीको स्तरोन्नति नगरेका र उहाँमाथि यसअघि जुमाविरूद्ध भ्रामक तथा घातक सन्देश फैलाएको आरोप पनि लागेको छ ।’
उनले जुमाको कारलाई विशेष गरी मोटरक्याडमा लक्षित गरिएको आरोप लगाउँदै भने, ‘घटना गलत मनसायबाट अभिप्रेरित रहेको देखिन्छ, घटनापछि कुनै समूहको हात हुनसक्छ ।’
सन् १९९४ मा रंगभेदको अन्त्य गरी सत्तामा आएयता पहिलोपटक एएनसीले ५० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने संघारमा पुगेको छ ।
कमजोर अर्थतन्त्र, भ्रष्टाचार र कमजोर राज्य व्यवस्थापनको आरोपबीच पार्टीले समर्थन बटुलिरहेको छ ।
मतदानको २ महिनाअघि जुमाको कार दुर्घटनाले सामाजिक सञ्जालमा षड्यन्त्रको सिद्धान्तबारे चर्चा परिचर्चा भएको छ ।
जुमा चढेको कारलाई ठक्कर दिने गाडीका चालक मंगलबार अदालतमा उपस्थित हुने बताइएको छ ।
जुमाको अवस्था कस्तो छ भनेर सोधिएको प्रश्नमा नधलेलाले एएफपीसँग भने, ‘उहाँ सधैंजस्तै उच्च मनोबलमा हुनुहुन्छ ।’