सुदूरपश्चिम । नागरिक उन्मुक्ति पार्टी (नाउपा) केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता आउन प्रदेशसभा, संसदीय दलका नेतालाई निर्देशन दिएको छ ।
पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीको दस्तखतमा आज शुक्रबार सार्वजनिक गरिएको पत्रमा चैत १४ गते टीकापुरमा बसेको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन गरेको निर्णयअनुसार सरकारबाट फिर्ता हुन निर्देशन दिएको हो ।
सुदूरपश्चिम प्रदेशसभा, नागरिक उन्मुक्ति पार्टी, संसदीय दलका नेता घनश्याम चौधरीलाई सम्बोधन गरिएको सो पत्रमा समर्थन फिर्ता नलिए पार्टीको विधान आकर्षित हुने चेतावनी दिइएको छ ।
केन्द्रीय कार्यालयको पत्र सार्वजनिक भएसँगै पार्टीका केन्द्रीय संस्थापक सदस्य लक्ष्यबहादुर चौधरी र प्रदेशका मन्त्री लक्ष्मणकिशोर चौधरीले एक विज्ञप्तिमार्फत् टीकापुरको बैठकमा भएको निर्णयप्रति आफूहरूको समर्थन नरहेको घोषणा गरे । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले २ दिनअघि नागरिक उन्मुक्तिबाट मन्त्रीमण्डलमा सहभागी लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम डगौरा चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका थिए ।
नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो । सुदूरपश्चिम प्रदेशमा भने कांग्रेस नेतृत्वको हालको सरकारलाई समर्थन गर्ने निर्णय सो पार्टीको संसदीय दलको बैठकले गरेको थियो ।
संसदीय दलका नेता एवं आर्थिक मामिलामन्त्री घनश्याम चौधरीले प्रदेशमा शाह नेतृत्वको अहिलेको सरकारलाई नै समर्थन गर्ने विषयमा आफूहरू पछि नहट्ने बताए । नागरिक उन्मुक्तिको समर्थनबाट मात्रै मुख्यमन्त्री शाहलाई सरकार जोगाउन चाहिने बहुमत संख्या पुग्दैन ।
बहुमत जुटाउनका लागि स्वतन्त्र सदस्य डा. तारा जोशी र राप्रपाका खेमादेवी विष्टबाट सहयोग प्राप्त हुने विश्वास मुख्यमन्त्रीले गरेका छन् ।