काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच २ मुलुकबीचको आर्थिक, कूटनीतिक तथा राजनीतिक बिषयमा छलफल भएको छ ।
विदेशमन्त्री जयशंकरले हालका महिनाहरूमा २ देशबीचको द्विपक्षीय सम्बन्धले निश्चित गति लिएको र भारत युक्रेनको क्षेत्रीय स्थितिबारे युक्रेनीहरूको धारणा बुझ्न जिज्ञासु रहेको बताए ।
बैठकको उद्घाटन गर्दै जयशंकरले भने, ‘हामी यस भ्रमणको प्रतिक्षामा थियौं । हालका महिनाहरूमा हामीले विभिन्न तहमा अन्तरक्रिया गरेका छौं, हाम्रा केही द्विपक्षीय संयन्त्रहरू नवीकरण गरिएको वा स्थापना गरिएको छ ।’
उनले थपे, ‘हाम्रो द्विपक्षीय सम्बन्धले निश्चित गति लिएको छ, आजको यो छलफलपछि हामी अन्तरसरकारी आयोगको बैठकको पनि प्रतिक्षामा छौं ।’
जयशंकरले २ नेताहरूले हाल चलिरहेको द्वन्द्व र यसको व्यापक असरहरूमा केन्द्रित रहेर व्यापकरूपमा खुला दिलले वार्तालाप गरेको सामाजिक सञ्जालमार्फत एक्समा उल्लेख गरे ।
कुलेबा बिहीबार जयशंकरको निमन्त्रणामा २ दिने औपचारिक भ्रमणका लागि भारत आइपुगेका थिए ।
भारत आइपुगेपछि मन्त्री कुलेबाले २ देशबीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीचको वार्तालाई अगाडि बढाउने प्रयास गर्ने बताएका थिए ।