वीरगञ्ज । भारतसँग सीमा जोड्ने वीरगञ्ज–रक्सौल सडक खण्डअन्तर्गत रजत जयन्ती चोकमा पर्ने जीर्ण सडक निर्माण हुने भएको छ ।
विगत १ दशकदेखि कालोपत्रे भत्किएर खाल्डाखुल्डी र असरल्ल हुँदा सवारीसाधन आवतजावतमा निकै सास्ती हुँदै आइरहेको थियो ।
मुलुककै मुख्य व्यापारिक नाका जोड्ने सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कारणले दुवै मुलुकका सर्वसाधारण र सवारीचालकले हैरानी खेप्दै आइरहेका छन् । व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज–पथलैया सडकका योजना प्रमुख राजेशकुमार यादवले वीरगञ्ज–रक्सौल सडकखण्डअन्र्तगत रजत जयन्ती चोकको भत्किएर असरल्ल भएको सडकलाई नयाँ ठेक्का व्यवस्थापन गरेर निर्माण अघि बढाइएको बताए ।
‘विगत १ दशकदेखि अलपत्र हुँदै आएको रजत जयन्ती चोकको सडक निर्माण गर्नका लागि नयाँ ठेक्का सम्झौता गरेर काम अघि बढिसकेको छ,’ उनले भने, ‘यो खण्डको सडक ६ महिनाभित्रै निर्माण सक्ने गरी ठेक्का सम्झौता भइसकेको छ । अहिले निर्माण कम्पनी पनि साइटमा खटिसकेका छन् । अब यो ‘क्यान्सर’ जस्तै बनेको खण्डको दीर्घकालीन समाधान हुने आशा गरेका छौं ।’
योजना कार्यालय र निर्माण कम्पनी सुवास/विकास/राजा जेभीबीच २०८० पुस २१ गते ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले विक्रम संवत् २०८१ असार २१ गतेभित्रै सडक निर्माण सम्पन्न गर्नुपर्नेछ । सडक खण्डको लागत १ करोड ८० लाख रुपैयाँ रहेको छ ।
योजना प्रमुख यादवले निर्माण कम्पनीले तोकिएको समय सीमाभन्दा अगावै निर्माण सम्पन्न गर्ने सम्भावना पनि उच्च भएको दाबी गरे । वीरगञ्जको घण्टाघरदेखि रक्सौल रुटमा इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आइरहेका सन्तोषकुमार साहले रजतजयन्ती चोकमा भत्किएको सडकले निकै सास्ती दिँदै आइरहेको बताउँछन् ।
‘रजत जयन्ती चोकमा भत्किएर खाल्डाखुल्डी भएको सडकले निकै दुःख दिँदै आइरहेको छ,’ उनले भने, ‘सरकारले नियमित मर्मत सम्भार नगर्दा यही खण्डमा दैनिक १ दर्जनभन्दा धेरै अटोरिक्सा दुर्घटनामा पर्दै आएका छन् । अर्काेतर्फ घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने समस्याबाट पनि आजित भइसकेका छौं ।’
व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज–पथलैया सडकका इञ्जिनीयर अनुपम कुमारले निर्माण कम्पनी उपकरणसहित साइटमा खटिसकेको बताए । ‘निर्माण कम्पनीले निर्माण उपकरणसहित साइटमा खटिसकेको छ,’ उनले भने, ‘सडकको दुवैतर्फ डाइभर्सन गरेर सडकको मध्ये भागमा काम भइरहेको छ ।’
इञ्जिनीयर कुमारले सडक खण्डको सडकमा मुआब्जा र क्षतिपूर्ति सम्बन्धित कुनै पनि विवाद नरहेको जानकारी दिए । यो खण्डको चौडाइ १४ मिटर अर्थात् ४ लेनको सडक कालोपत्रे गरिने जनाइएको छ ।