मोरङ । विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकपको आठौं संस्करणमा न्युरोड टीम (एनआरटी) प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।
शुक्रबार भएको रात्रिकालीन गोल्डकपमा विभागीय टीम त्रिभुवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो ।
जीतसँगै एनआरटीले आईतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम डेगानसँग प्रतिस्पर्धा गर्नेछ ।
जीतका लागि एनआरटीका विदेशी खेलाडी रिचार्ड र आफिज ओलावाले गोल गरेका थिए । खेलको पहिलो हाफको २६औं मिनेटमा एनआरटीका रिचार्डले गोल गरी टीमलाई अग्रता दिए । आफिजले निकालिदिएको क्रस पासलाई रिचार्डले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमेको थियो ।
पहिलो हाफमा १–० गोलले अग्रता लिएको एनआरटीले दोस्रो हाफको ७५औं मिनेटमा आफिजले गोल गरी टीमको जीत सुनिश्चत गरे । डिबक्सभित्र वैकल्पिक खेलाडी सुदीप श्रेष्ठले निकालिदिएको पासलाई आफिजले हेडिङ गरेको बललाई आर्मीका गोलकिपर समित श्रेष्ठले पञ्च गरेर नियन्त्रणमा लिन नसक्दा आकर्षक गोल भयो ।
खेलको ‘म्यान अफ द म्याच’ एनआरटीका आफिज ओलावा घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए । शनिबार पहिलो क्वाटरफाइनल खेल घरेलु टीम संग्रिला मोरङ फूटबल क्बल र भुटानको आरटीसी एफसी क्बलबीच हुनेछ ।
चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशी ३ टीम सहितका स्वदेशी ‘ए’ डिभिजनका १० टीमको सहभागिता रहेको आयोजक विराट गोल्डकप फूटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए ।
गोल्डकपको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल उपहार दिने गोल्डकपका अध्यक्ष शाहीले बताए ।