इलाम । सूर्योदय नगरपालिका–८, ९ र १० का ३५ जना एकल महिलाका ५ वटा समूह छन् । १ महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले ५ दिने उद्यम सम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न बाटो देखायो ।
बाख्रा पालन, बंगुर पालन, पुष्प खेती, टनेलमा सागसब्जी खेती र ‘ब्युटीपार्लर’ सञ्चालनको चाहना व्यक्त गरेका उनीहरूलाई २ तहका सरकारले प्रतिएकल महिला ३५ हजारका दरले बीउ पुँजी उपलब्ध गराएको छ ।
शुक्रबार एक कार्यक्रमबीच मूल समिति ‘प्रगतिशील एकल महिला उद्यमशील समूह’लाई १० लाख ५० हजार रकम हस्तान्तरण गरिएको नगर प्रमुख (मेयर) रणबहादुर राईले बताए ।
‘एकल महिलालाई व्यवसायमा जोड्न र बचत गर्ने संस्कार विकास गर्न बीउ पुँजी दिएका हौं,’ उनले भने, ‘एकल महिलाहरू समूहमा आबद्ध हुनुहुन्छ । दैनिक वा मासिक बचत संकलन गर्नुहुन्छ । उहाँहरूको इच्छाबमोजिम उद्यमशील तालिम दिएर व्यवसायमा जोड्न बीउ पुँजीको कार्यक्रम ल्याएका हौं ।’
सूर्योदय–८ मालुमकी प्रमिला थापाले ब्युटीपार्लर सञ्चालन गर्न बीउ पुँजी पाएपछि व्यवसायमा लगानी बढाउने बताए । ‘समूहगत रूपमा लगानी वृद्धि गरेर व्यवसायलाई जीवनयापनको माध्यम बनाउने लक्ष्य छ,’ उनले भने, ‘सामान्य तरिकाले पसल गरिरहे पनि लगानी बढाउन नसक्दा व्यावसायिक बन्न सकिएको थिएन । नगरपालिकाबाट तालिम पनि पाएका छौं । पैसा पनि पाइयो, अब यसैबाट सफल बन्नुछ ।’
३ वर्षपछि बीउ पुँजीका रूपमा लिइएको ३५ हजार भने नगरपालिकालाई फिर्ता गर्नुपर्ने प्रमुख राईले बताए । ‘उक्त रकम ३ वर्षमा नगरपालिकालाई फिर्ता गर्नुपर्ने हुन्छ । सो रकम हामी अन्य एकल महिलालाई हस्तान्तरण गर्दै जान्छौं । बीचमा एकल महिलाले विवाह गरेमा पनि रकम नगरपालिकामा फिर्ता गर्नुपर्छ,’ उनले भने, ‘यो रकमले सामूहिक खेती गर्न, व्यवसाय गर्न र नियमित बचत गर्न सहयोग पुर्याउँछ ।’
एकल महिलाले एक्लोपनको महसूस गर्नु नपरोस्, आत्मनिर्भर बन्न सकून् भनेर व्यवसायमा आकर्षित गराइएको उनी बताउँछन् । उनका अनुसार पालिकाभरि करीब १ हजार एकल महिला रहेका छन् । ६०० भन्दा बढी एकल महिलाले स्वास्थ्य बीमा भएको छ ।
सामूहिक रूपमा एकताबद्ध हुँदा व्यावसायिक सफलता मिल्ने ठानेर यो अभियान सुरु गरिएको हो । ‘एक घर एक करेसाबारी’ कार्यक्रमअन्तर्गत केही सागसब्जी खेतीमा पनि आबद्ध भएका छन् । नगरपालिकाका १४ वटै वडामा कार्यक्रम पुर्याउने पालिकाको लक्ष्य छ ।