म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा लक्ष्यअघि नै मोटर चल्ने पक्की पुल निर्माण भएको छ ।
ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र र अधुरा बनिरहेका अवस्थामा सडक विभागको पुल महाशाखामार्फत सञ्चालित बेगखोला मोटर गुड्ने पुल लक्ष्यअघि नै सम्पन्न भएको हो ।
७० मिटर लामो पुल निर्माणका लागि २०७८ असार २९ गते बीओकेआई/हिमालयन जेभी र सडक विभागको पुल महाशाखाको पश्चिम सेक्टर कार्यालयबीच ८ करोड ३० लाख ६८ लाखमा ठेक्का सम्झौता भएको थियो ।
हिमालयन इञ्जिनीयरिङका इञ्जिनीयर आभास सापकोटाले २०८१ असार मसान्तसम्मको ठेक्काको म्याद भए पनि हस्तान्तरण गर्ने तयारीमा रहेको जानकारी दिए । गत असोजदेखि नै पुलमा सवारीसाधन वारपार गर्न थालेका भन्दै उनले ३५० मिटर लामो पहुँच मार्ग निर्माण सकिएको बताए ।
कालोपत्र गरेर आगामी वैशाख १५ गतेभित्र हस्तान्तरण गर्ने तयारीमा रहेको इञ्जिनीयर सापकोटाले बताए ।
पुल महाशाखाको पश्चिम सेक्टरका इञ्जिनीयर आशिक रिजालका अनुसार ११ मिटर चौडाइ भएको पुल डिजाइन एण्ड विल्ड (निर्माण व्यवसायीले आफैं डिजाइन र निर्माण गर्ने) मोडलमा ठेक्का सम्झौता भएको थियो । डिजाइन तयार पार्न १ वर्ष लागे पनि आर्थिक रूपमा असहज अवस्थाका बाबजुद पर्याप्त निर्माण सामग्री व्यवस्थापन, मजदुर र उपकरण परिचालन गरेर लक्ष्यअघि नै पुल निर्माण गर्न सफल भएको इञ्जिनीयर सापकोटाले बताए ।
विक्रम संवत् २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा १ जनाको ज्यान जानुका साथै ११ घर, बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि बर्खायाममा बाढी आउँदा यातायात आवतजावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । रघुगंगा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनले पुल बनेसँगै बेगखोलामा बाढी आएको अवस्थामा यातायात आवतजावत बन्द हुने र जोखिम मोलेर वारपार गर्नुपर्ने समस्या हटेको बताए ।
पुल महाशाखाले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत महभिर र पोखरबगरस्थित कालीगण्डकीमा यसअघि २ मोटर गुड्ने पुल निर्माण गरेको छ । १९ करोडको लागतमा महभिरमा ८० मिटर र पोखरेबगरमा ७० मिटर लामो पुल निर्माण गरिएका हुन् ।
गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा १३ पक्की पुल र ३ बेलीब्रिज निर्माण गरिएका छन् । ६ ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन् ।
२०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत सेतोखोलामा थप १ मोटर गुड्ने पुल निर्माण सुरु भएको आयोजना प्रमुख धु्रव झाले बताए । सडकले गण्डकी प्रदेशको पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।